रूपन्देहीमा उद्योग खुल्नेक्रम घट्यो, बन्द हुने बढ्यो


भैरहवा– रुपन्देहीमा पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा र आर्थिक मन्दी लगायतका कारण साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ । नयाँ उद्योग खुल्ने क्रम घट्दा र पूराना उद्योग बन्द भइरहँदा वास्तविकता बुझेर समस्या समाधन गर्नेतर्फ सरकारको ध्यान गएको देखिँदैन ।
उपभोक्ता घट्दै जाँदा र आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको हो । थोरै लगानीमा सञ्चालन गर्न सकिने र उर्जा खपत तथा कामदार सहजै पाइने भएपछि लगानी गर्नेहरु धेरै थिए । तर, पछिल्ला वर्षहरुमा उद्योग दर्ता गर्ने घटेका छन् भने बन्द गर्ने बढेका छन् । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा समेत जिल्लामा उद्योग खोल्ने घटिरहेका छन् भने बन्द गर्ने बढीरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा १ हजार १३० उद्योग दर्ता हुँदा २१७ बन्द भएका थिए । ०८०–०८१ मा ८३७ दर्ता हुँदा ३४५ बन्द भए । चालु आर्थिक वर्ष २०८१–०८२ को दुई महिनामा १५८ नयाँ उद्योग दर्ता हुँदा १ सय ८ वटा बन्द भएका छन् । यो तथ्यांकले पनि घरेलु तथा साना उद्योगका लागि कुनैबेला हब मानिने रुपन्देहीमा आर्थिक संकटको अवर देखापरिरहेको पुष्टि हुन्छ ।
बन्द हुनेमा कतिपय दर्ता मात्रै भएका तर संचालनमा नभएका छन् भने धेरैजसो लगानीअनुसारको प्रतिफल नपाएका रहेको कार्यालय प्रमुख लोकबहादुर कार्कीले बताए । ‘किन उद्योग दर्ता गर्ने घटे र बन्द गर्ने बढे भन्नेबारे सुक्ष्म अध्ययन जरुरी छ’, उनले भने, ‘लगानीअनुसारको प्रतिफल नपाउँदा र सम्भावनाको खोजी गर्दै विदेशिने धेरै हुँदा समेत केही असर परिरहेको छ ।’
जिल्लामा संचालित साढे १८ हजार घरेलु तथा साना उद्योगमा करिब ४४ अर्ब लगानी भएको छ । यसबाट ४६ हजार जतिले रोजगारी पाएका छन् । यसमध्ये ७० प्रतिशत महिला मात्रै रोजगाररत छन् । उत्पादन, कृषि तथा वन, पर्यटन र सेवामूलक नयाँ उद्योग थपिने क्रम घट्दै जानु र पूराना उद्योग बन्द हुँदा निजी क्षेत्रमा निराशा छाएको छ ।
राज्यले श्रमप्रधान तथा उर्जा खपत न्यून हुने प्रकृतिका उद्योगलाई घरेलु र पाँच करोडसम्मको स्थिर पूँजी लगानी हुने उद्योगलाई साना उद्योग अन्तर्गत राखेको छ । भारतसँगको सहजमार्ग, विश्व पर्यटन केन्द्र लुम्बिनी, गौतमबुद्ध विमानस्थल लगायतका कारण सम्भावना देखेर विशेषगरी पछिल्ला वर्षहरुमा रुपन्देहीमा विदेश गएर फर्केका र युवापुस्ताले कृषि, होटल तथा रेष्टुरेन्ट, हस्तकला, छालाजुत्ता, सःमिल, सिलाइकटाई, धातुजन्य, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचरलगायत घरेलु तथा साना उद्योगमा बढी मात्रामा लगानी गरेका छन् ।
तर, सरकारी नीति, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज, कोरोना महामारी, आर्थिक मन्दी जस्ता कारण उद्योग बन्द हुने क्रम पनि बढीरहेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘उद्योग बन्द गरेर कतिपय लगानीकर्ता पुनः विदेश पलायन समेत भइरहेका छन् । सरकारले के कारणले उद्योग बन्द भइरहेका छन् ? यसबारे सोधखोज भने गरेको पाइँदैन’, उनले भने, ‘निजी क्षेत्रमैत्री सरकार नहुँदा अहिलेको अवस्था आएको हो ।’








प्रतिकृया दिनुहोस्