June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

भैरहवामा सडक खाना महोत्सवको रौनक, तारे हाेटलदेखि रैथाने खानाकाे स्वाद लिन पाइने (फाेटाे फिचर)

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य भैरहवामा आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी भएका छन् । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुँदै मुख्यमन्त्री आचार्यले यहाँ राखिएका विभिन्न स्टलहरुको अवलोकन गरे ।

Advertisement

पर्यटकलाई रैथाने खानाको स्वाद चखाउन महोत्सव सफल हुने, रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने र यसले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा आउन आकर्षित गर्ने विश्वास मुख्यमन्त्री आचार्यले व्यक्त गरे । महोत्सवमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता छ ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले भैरहवामा सडक खाना महोत्सव आयोजना गरिएको हो । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर सिद्धार्थ होटल एशोसिएसनको आयोजनामा सडक खाना महोत्सव तथा म्युजिकल नाइट-२०८१ भएको छ । पर्यटन प्रबर्द्धन गर्न केही वर्ष पहिलेदेखि भैरहवामा सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।

नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघसंस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रबर्द्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ ।