October 15, 2024, Tuesday
२०८१ आश्विन २९

लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाखको क्षती

भैरहवा–लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटनाबाट एक करोड ४३ लाख बराबरको क्षती भएको छ ।

Advertisement

असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन । विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाइते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ । ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।

लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गरेका थिए । सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंमसेवकहरु परिचालन भएका थिए ।