पर्यटन दिवसः ढाकाटोपी लगाइदिएर पर्यटकको स्वागत, पर्यटकीय पूर्वाधार विकासमा जोड
भैरहवा– आज विश्व पर्यटन दिवस । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । रुपन्देहीमा भने मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरि मनाइयो । गुणस्तरीय पर्यटक र कनेक्टिभीटीमा सरोकारवालाले जोड दिए । नाका र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक खुशी भए ।
शुक्रबार बिहानैदेखि अविरल वर्षा भइरहेको छ । तर, ४५ औं विश्व पर्यटन दिवसलाई अविरल वर्षाले छेकेन । बिहानै रुपन्देहीका पर्यटन व्यवसायी, प्रदेशस्थित मन्त्री र सरकारी कार्यालयका प्रमुखहरु जम्मा भएर मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका र बुद्ध जन्मस्थल लम्बिनीमा स्वागतमा खटिए । विगतमा खुल्ला ठाउँमा गरिने कार्यक्रम सभाहलमा सीमित भए पनि पर्यटन दिवसको रौनकमा भने कमी थिएन ।
पर्यटन डिभिजन कार्यालयसहित विभिन्न संघसंस्थाले बेलहिया नाकाबाट भित्रिएका फिलिपिन्सका जेलिना रोन्डाइल, श्रीलंकन सर्य सिंह, भारतीय जैनेन्द्र मोहन र मन्जु मोहनलाई स्वागत गरे । प्रदेशको पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषसहित पर्यटन व्यवसायीले लुम्बिनीमा पुगेका जापनिज युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई ढाकाटोपी, खादामाला र मायाको चिनोसहित स्वागत गरे । सीमानाका र लुम्बिनीमा न्यानो आतिथ्यता पाएका पर्यटकले चिटिक्क ढाकाटोपीमा सजिएर खुशी व्यक्त गर्दै नेपाल र नेपालीको प्रशंसा गरे ।
बेलहिया नाका र लुम्बिनीमा स्वागत गरिएका पर्यटकलाई एक दिनका लागि पर्यटन व्यवसायीले खाना, बस्न र घुम्नको व्यवस्था गरेका छन् । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएकाले पर्यटकलाई गर्ने स्वागत, उनीहरुको आतिथ्यता, सेवासुविधा र मौलिकतामा कन्जुस्याइँ गर्न नहुने सरोकारवालाको जोड दिए । ‘यसले विश्वबजारमा नेपालको पहिचान झल्किने भएकाले पनि पर्यटकीय वातावरणसहितको व्यवहार जरुरी हुन्छ’, उनले भने, ‘तर, विभिन्न बहानामा पर्यटक माथि हैरानी भइरहेको घटना बेलाबेला बाहिरी रहन्छन् । यसमा सजग बनौं ।’ उनले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने जनाए ।
लुम्बिनी प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ र सन्तोषकुमार पाण्डेयले लुम्बिनीलाई केन्द्रमा राखेर गरिने विकासले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव पार्ने जनाए । उनीहरुले प्रदेश सरकारको ध्यान पर्यटकीय विकासमा हुनुपर्नेमा जोड दिए । कनेक्टिभी, पूर्वाधार विकास, सेवासुविधा, सिस्टता लगायतमा ध्यान दिई तीनै तहका सरकार र निजी क्षेत्र मिलेर अघि बढे पर्यटकको बसार्इं लम्बिने र मुलुकले पर्यटकबाटै फड्को मार्न सक्नेमा उनीहरुले जोड दिए । लुम्बिनी हिरा भएर पनि अझै हामीले चिन्न नसकेको उनीहरुको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्यटक भित्र्याउन पूर्वाधार, प्रकृति र संस्कृति जरुरी रहेको जनाए । ‘प्रकृतिले नेपाललाई उपहार नै दिएको छ । पूर्वाधार र कनेक्टिभिटी मुख्य समस्या बनिरहेका छन् । यसमा ध्यान दिऔं’, उनले भने, ‘हाम्रा व्यवहार पनि सुधार गर्न जरुरी छ ।’ पर्यटन डिभिजन कार्यालय, रुपन्देही प्रमुख गीता आचार्यले लुम्बिनीमा पाँच सय ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेर प्रबद्र्धन भइरहेको जनाइन् । तर, ती सबै ठाउँमा पर्यटक पुर्याउन नसक्दा बसाईं अवधि लम्ब्याउन नसकिनेको उनले बताइन् ।
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त, सोट्टो नेपालका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी संजय बजिमयले लुम्बिनीको पर्यटन विकासका लागि गौतमबुद्ध विमानस्थल संचालनमा जोड दिए । उनीहरुले गुणस्तरीय पर्यटक भित्र्याउन विमानस्थल संचालन जरुरी रहेको बताए । यस्तै, नाका व्यवस्थापन, पर्यटकलाई हुने हैरानी रोक्न माग गरे ।
बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरिक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन् । अध्यागमन कार्यालयका अनुसार यो अवधिमा स्थलमार्ग हुँदै बेलहियाबाट ५२ हजार ४ सय ५२ जना तेस्रो मुलुकका पर्यटक मुलुक भित्रिएका छन् । सिथिल बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किंदै गएको छ । तर, पूर्वाधार र कनेक्टिभिटी मुख्य समस्या बनिरहेका छन् । यसतर्फ ध्यान दिनुपर्ने निजी क्षेत्रको माग छ ।
प्रतिकृया दिनुहोस्