August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

भन्सार छली नियन्त्रणमा प्रहरी कठोर, साढे ९ करोड राजश्व संकलन

Advertisement

भैरहवां– भन्सार छली नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, रुपन्देही कठोर देखिएको छ । जिल्ला प्रहरी र मातहतका कार्यालयको सक्रियताले आर्थिक वर्ष २०८०–०८१ मा राजश्व संकलनमा उलेख्य बृद्धि भएको छ । प्रहरीले गत वर्ष साढे ९ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको तथ्यांक छ । भारतसित जोडिएका विभिन्न सीमा नाकाबाट भन्सार छलेर चोरीपैठारी गरिएका सामान नियन्त्रणमा लिएर जिल्लामा आर्थिक वर्ष २०८०–०८१ मा प्रहरीले ९ करोड ५४ लाख ५७ हजार ८३ रुपैयाँ राजश्व संकलन गरेको हो ।

Advertisement

प्रहरीले जिल्लास्थित सीमा क्षेत्रबाट दिनदिनै भन्सार छलीका सामान नियन्त्रणमा लिइएका कारण राजश्व संकलन बृद्धि भएको जनाएको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले राजश्व संकलन बृद्धि भएको भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा प्रहरीले ६ करोड ४५ लाख ९ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन गरेको थियो । गत वर्ष भन्सार छलीमा संलग्न आरोपमा १ सय १६ व्यक्ति, १२ ट्रक, १ कन्टेनर, १ ट्याक्टर, १३ पिकअप, १ सय ९६ मोटरसाइकल र ५ वटा अटोरिक्सा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनकाअनुसार गत वर्ष ब्रोइलर कुखुरा ६ हजार २ सय ४७ गोटा, ब्रोइलर कुखुराका चल्ला १० हजार ५ सय गोटा, १७ क्यारेट अण्डा, ५१ बाख्रा, २ सय ५० गोटा हाँसका चल्ला र कुखुरा तथा हाँस लगायत कारोबारमा संलग्न २२ जना पक्राउ गरेर कारबाहीका लागि पशु चेकपोष्ट कार्यालय, बेलहिया बुझाइएको थियो । त्यसबाट १ करोड २१ लाख ६ हजार ३ सय ८० रुपैयाँ राजश्व संकलन भएको र दुई जनामाथि अभद्र व्यवहार मुद्दा चलाइएको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौंरका अनुसार गत वर्ष भन्सार छलीमा गरिएको कडाईका कारण राजश्व संकलनमा बृद्धि भएको हो । जिल्लाका सुरक्षा निकायबीच समन्वयमा अवैध तरिकाले नाकाबाट भन्सार छलेर समान भित्र्याइएका समानसँगै व्यक्ति र उनीहरुले प्रयोग गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राठौंरले जानकारी दिए ।

गतवर्ष भन्सार छलेर भित्र्याइएको ८ हजार १ सय २८ किलो माछा, १ सय ५० किला सिद्रा र तिनको ओसारपसारमा संलग्न १० मोटरसाइकल नियन्त्रणमा लिइएको र त्यसबाट २१ लाख ८ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरीले जनायो । ‘हामीले अवैध तरिकाले भित्र्याइने खाद्यान्न नियन्त्रणमा विशेष ध्यान दिएका छौं,’ प्रहरी प्रमुख राठौंरले भने, ‘त्यसका लागि प्रहरीका सबै युनिटलाई कडाई गर्न निर्देशन गरिएको छ ।’ गतवर्ष नाकाबाट भन्सार छलेर भित्र्याइएको १ हजार ३ सय ८१ बोरा प्याज, ४ वटा ट्रक, २६ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । त्यसबाट ९८ लाख ७९ हजार ५ सय ९५ रुपैयाँ राजश्व संकलन भएको प्रहरी जनाएको छ ।

गत वर्ष भन्सार छलेर भित्र्याइएको ६३ हजार १ सय ५० किलो चिनी, १ ट्रक र ओसारपसारमा संलग्न १९ मोटरसाइकल नियन्त्रणमा लिएर भैरहवा भन्सार बुझाइएको थियो । त्यसबाट ६६ लाख ५७ हजार ९ सय रुपैयाँ राजश्ज संकलन भएको थियो । प्रहरी प्रवक्ता भट्टका अनुसार लत्ताकपडा बरामद, लागू औषध नियन्त्रण र फैसला कार्यान्वयन लगायतबाट राजश्व संकलन बृद्धि गरिएको हो । ‘चोरीपैठारी नियन्त्रणलाई अहिले पनि उत्तिकै कडाई गरेका छौं,’ भट्टले भने, ‘चालु वर्ष राजश्व संकलन थप बृद्धि हुने अपेक्षा गरेका छौं ।’