August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

‘निजी क्षेत्रमा नैराश्यता छायो’

Advertisement

भैरहवा– राज्यको नीति–नियम र कानुनको कार्यान्वयन उद्योगी–व्यवसायी मैत्री नभएकाले लगानीकर्तामा नैराश्यता छाएको निजी क्षेत्रका अगुवा तथा प्रतिनिधिले गुनासो गरेका छन् । उद्योग व्यापार संगठन, रुपन्देहीको १७औं बार्षिक साधारण सभाका अवसरमा शनिवार भैरहवामा आयोजित कार्यक्रममा बोल्ने व्यवसायीले मुलुकमा स्थिर सरकार नबन्नु, पटक–पटक नीति–नियम र कानुनको परिवर्तन भए पनि आवश्यक परेकाबेला उद्यमी व्यवसायीलाई राहत प्याकेज दिन नसक्नु, पुनर्कर्जा, व्याज छुट, सहुलियत कर्जा र प्रोत्साहन जस्ता विषयमा राज्यले चासो नराख्दा नेपालको औद्योगिक र वाणिज्य क्षेत्र संकटग्रस्त अवस्थामा पुगेको गुनासो गरे ।

Advertisement

‘बिश्वमा देखा परेको आर्थिक मन्दीप्रति सरकारको उदाशिनता र कतिपय अव्यवहारिक सरकारी नीतिका कारण चार सय भन्दा धेरै उद्योग बन्द भैसकेको र कतिपय छिट्टै बन्द हुने अवस्थामा छन्’, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले भने, ‘गलत आर्थिक नीतिका कारण एकपछि अर्को व्यवसाय धरापमा परिरहेका छन् ।’

मुलुक आर्थिक रुपमा परनिर्भरताको दिशातर्फ मोडिएको जनाउँदै श्रेष्ठले कठिनपूर्वक चलेका उद्योगमा सरकारले विभिन्न कारण देखाइ औद्योगिक र बाणिज्य वातावरण खल्बल्याउने कार्यले गर्दा निराशा बढाएको बताए । संगठनकी महासचिव लक्ष्मी अधिकारीले स्वदेशमा औद्योगिक विकासले गती लिन नसक्दा परनिर्भरता दिन प्रतिदिन बढिरहेको र स्वदेशी उत्पादन न्युन हुँदै जाँदा छिमेकी राष्ट्रको व्यापार नीतिसँग प्रभावित हुन परिरहेको बताइन् ।

‘जसरी भए पनि बैंक व्याज, बहाल कर जस्ता सरकारी नीतिले गर्दा हामी उद्योगी व्यवसायी धराशायी हुने अवस्थामा छौं’, उनले भनिन् । पर्यटन कृषि उद्योग र व्यापारको समुन्नत बिकास गरी राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि संगठनले करको दरमात्र नभइ दायरा बढाउनु पर्ने, व्यवसाय गर्ने उचित वातावरण तयार पार्नु पर्ने, राष्ट्रिय गौरवका आयोजना समयमैं पुरा गराइ पूर्णरुपमा संचालनमा नआएसम्म अर्को आयोजना लागु गर्न नहुने, भारतसँगको खुल्ला सिमानाले नेपालको नीति नियम प्रभावित पार्ने गरेकाले पूर्ण रुपमा व्यवस्थित गरिनु पर्ने माग गरेको छ ।

चोरी पैठारीलाई निर्मुलिकरण गर्न आयातित बस्तुमा भन्सार मूल्यांकन दर घटाउनु पर्ने, राजनीतिक प्रतिबद्धता र स्थायित्व कायम गर्दै औद्योगिक सुरक्षा र लगानीको प्रत्याभूति गराउनु पर्ने, युवापुस्तालाई पलायन भइ रित्तिएका गाउँमा अत्याधुनिक प्रविधिमैत्री र एकीकृत कृषि बस्ती प्रणालीको अवधारणा लागु गर्नुपर्ने, पर्यटकको बसाइँ अवधि लम्ब्याउने नीति तथा योजना संचालन गर्नु पर्ने र पर्यटनको हरेक क्षेत्रलाई जोडेर स्थानीय एवम् राष्ट्रिय उत्पादन खरिदबिक्री केन्द्र स्थापनाका लागि उचित वातावरण तयार पर्नु पर्ने लगायतका १६ वटा बिषयमा सम्बोधन गर्न संगठनले सरकारसँग माग गरेको छ ।

उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष हरि अर्यालले उद्योग व्यवसायको प्रबद्र्ध गर्न आवश्यक नीति तथा योजना निर्माणका लागि निजी क्षेत्रबाट दवावमूलक कार्यक्रम गरिनुपर्ने बताए । उनले यसको बातावरण तयार गर्न निजी क्षेत्रबीच एकता र सहकार्यको आवश्यकता रहेको बताए । सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले सुनौली–बेलहिया नाका हुँदै नेपाल आएका पर्यटकलाई नेपालमा धेरै पर्यटकीय गन्तब्य स्थल धेरै हुँदाहुँदै पनि पूर्वाधारको अभावले त्यहाँ पुर्याउन नसकिएको बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको २७ महिनापछि अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने आशा जगाएको उनले बताए । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेले नेपालको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको अहम् भूमिका हुने र अपेक्षा गरे अनुरुपको आर्थिक बृद्धिदर नरहे पनि सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले नेपाल भ्रमणमा आएका भारतीय पर्यटकलाई नेपाल छिर्नासाथ ठाउँ–ठाउँमा हुने चेकजाँच र सोधपुछले हैरानी भएको र यस खालको व्यवहारले नकारात्मक सन्देश गरेको बताए । ‘समग्र बुलुकको विकास हामीले गर्न नसकेमा गलत सन्देश जाने छ’, उनले भने, ‘मुलुकको विकासका लागि हामी सबै पक्षबीच आपसमा सहकार्य जरुरी छ र इमान्दारिताका साथ सहकार्य गरेर अघि बढेमा सफल भइन्छ ।’