पूर्णक्षमतामा विमानस्थल चलाउन टिकट, ग्राउण्ड ह्याण्डलिङ र हवाइ इन्धनमा सहुलियत


भैरहवा– निर्माण सम्पन्न भएको २७ महिनासम्म पनि पूर्णक्षमतामा सञ्चालनमा आउन नसकेका भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि सरकारले टिकट, ग्राउण्ड ह्याण्डलिङ र हवाइ इन्धनमा सहुलियत दिने भएको छ । यो सुविधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि लागू हुनेछ ।
दुईवटै विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले उक्त सहुलियत दिने तयारी गरेको हो । यसअघि सरकारले स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम केन्द्र, बिमा, श्रम स्वीकृत जारी गर्ने कार्यालय र म्यानपावर कम्पनीहरु लगायतका भैरहवामा स्थापना निर्णय गरेको छ । केही समय अघि सरकारले थाई एयर एसियालाई भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति दिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताए । कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरुले खोजेको सहुलियतका आधारमा सरकारले उक्त कार्ययोजना बनाएको भनाइ मन्त्री पाण्डेको छ ।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधि भर यि विमानस्थलको हकमा नलिने गरी सरकारले सहुलियत दिन लागेको उनले बताएका छन् । यसैगरि, हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म यि दुई बिमानस्थलका लागि नलिने योजना छ ।
उनका अनुसार, काठमाडौंको विमानस्थलमा भन्दा भैरहवामा इन्धनको मूल्य सस्तोमा लिने गरी कार्ययोजना बनेको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा यो कार्ययोजना बनेको हो । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको छ ।
विमानस्थलमा क्वारेन्टाइन सम्बन्धि चेकजाँचका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रीपरिषद्मा पेस भएको छ । सरकारले विमानस्थलमा दिने यस खालको सहुलियतले दुईवटा विमानस्थल संचालन गर्न धेरै सहज हुने र पूर्ण क्षमतामा संचालन गर्नका लागि सहज बातावरण बन्ने अपेक्षा सरकाले राखेको मन्त्री पाण्डेले बताए ।
यि दुई बिमानस्थल राष्ट्रिय गौरवका आयोजना र मुलुकका लागि रणनीतिक महत्वका परियोजना भएकाले पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्ने प्रयास गरिरहेको उनले जनाए । भैरहवाको विमानस्थल संचालनमा नआउँदा निजी क्षेत्र निकै निरास छ । यस्तोबेला सरकारको पछिल्लो पहलले केही आशा पलाएको सिद्धार्थ उद्योग बाणिज्य संका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
‘हामीले विगत लामो समयदेखि गरेको प्रयासले विस्तारै पूर्णता पाउँदैछ । निजी क्षेत्रका लागि सरकारका पछिल्लो कदम सह्रानीय छन्’, उनले भने, ‘निजी क्षेत्रले सबै किसिमको सहयोग गर्छ । तर सरकारले जसरी हुन्छ भैरहवाबाट दैनिक उडान भर्नुपर्छ ।’ उनले विमानस्थललाई लक्षित गरी गरिएको लगानी डुब्ने स्थितिमा पुगेको भन्दै चाँडै विमानस्थल पूर्णक्षमतामा नचले धेरै लगानीकर्ता पलायन हुने जनाए । ‘निजी लगानीसँगै सरकारी लगानी जोगाउन पनि अब ढिलाई गर्नुहुन्न’, उनले भने, ‘पर्यटन मन्त्रालयको पहल र प्रधानमन्त्रीको सक्रियताले भइरहेका पछिल्ला निर्णय चाँडै कार्यान्वयनमा आओस् ।’








प्रतिकृया दिनुहोस्