January 25, 2025, Saturday
२०८१ माघ १३

झोलुंगे पुल सञ्चालनपछि अब नेपालबाटै वाल्मीकि आश्रम जान सकिने

भैरहवा– नवलपरासीको त्रिवेणी नजिकै नारायणी नदी पारी रहेको वाल्मीकि आश्रम जान नेपालीलाई भारतको बिहार हुँदै पुग्नु पर्ने बाध्यता हटेको छ । वाल्मीकि आश्रम जानका लागि नारायणी नदीमा दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको झोलुंगे पुल सञ्चालनमा आएपछि नेपालबाट जाने बाटो नभएकाले हैरानी खेप्दै भारत हुँदै जानु पर्ने बाध्यताको अन्त्य भएको हो । यद्यपी वाल्मीकि आश्रम गाडीबाट जानका लागि भने भारतीय सुरक्षाकर्मीको अनुमती लिएर भारतीय भूमि हुँदै पुग्नु पर्ने बाध्यता यथावत नै छ ।

Advertisement

चितवनको माडी नगरपालिका–१ मा पर्ने यो स्थल नेपालमा भएर पनि बाटोको असहजताले बिरानो बनेको थियो । नेपाल हुँदै वाल्मीकि आश्रम पुग्नका लागि कि नारारायणी नदीमा डुंगा चढेपछि गोरेटो बाटोबाट जानु पर्ने कि त घुमेर गण्डक व्यारेज (बाँध) पारीपट्टी भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको वाल्मीकिनगर हुँदै जानु पर्ने बाध्यता थियो । नारायणी नदीमा नियमित डुंगा नचल्ने हुँदा यो नेपाल हुँदै जान जुनसुकैबेला पनि सम्भव थिएन ।

नेपालबाटै वाल्मीकि आश्रम सहज रुपमा आउजाउ गर्नका लागि त्रिवेणीस्थित नारायणी नदीमा झोलुंगे पुल बनाइयो । तर, निकुन्जले प्रयोग गर्न नदिएपछि संचालनमा आउन सकेको थिएन । पुलबाट जानमा रोक लगाइएको थियो । करोडौं रुपैयाँ खर्चेर तयार पारिएको त्यो पुल संचालनमा नआएपछि टिकटक र तस्विर खिच्न लागिमात्रै प्रयोगमा आउने गरेको थियो ।

सोमवारदेखि पुलको नजिकै सेनाको पोस्ट राखेर धार्मिक पर्यटक र तीर्थालुलाई आश्रम जाने व्यवस्था मिलाइएपछि पुल सञ्चालनमा आएको हो । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास सामितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले पुल र करिब ३ किलोमिटर लामो पैदल मार्गको उद्घाटन गरेर पुल सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसदहरू, विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि र श्रद्धालुको ठूलो उपस्थिति थियो । पुल सञ्चालनमा ल्याइएकाले अव नेपाली तीर्थालु र पर्यटकलाई वाल्मीकी आश्रम पुग्नकालागि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताएका छन् ।

धार्मिक पर्यटनको केन्द्र वाल्मीकि आश्रम दर्शन तथा अवलोकनका लागि नेपाल र भारतबाट बर्षेनि हजारौं तीर्थालु आउने गर्छन् । वाल्मीकि आश्रम परिसरमा रामायणमा वर्णित महर्षि वाल्मीकिको आश्रम, ८८ हजार ऋषिमुनिले यज्ञ गरेको हवन कुण्ड, लवकुश जन्मस्थल, शिक्षा ग्रहण गरेको स्थल, लवकुशले घोडा बाँधेको ठाउँ, सीताजीको भान्सा स्थल, अमृत कुवा, सीता पाताल प्रवेशस्थल लगायतका ऐतिहासिक स्थल रहेका छन् ।

ऐतिहासिक र धार्मिक रुपले अति महत्वपूर्ण उक्त सम्पदास्थल नेपालमा भएर पनि बाटो सहज र सुरक्षित नभएकाले वाल्मीकि आश्रम जान चाहेका कैयन् यात्रु त्रिवेणीबाटै फर्किने गरेका थिए । पुल सञ्चलनमा आएपछि त्रिवेणीबाट आधा घण्टामैं पैदल यात्रामा पुग्न सकिने त्रिवेणी क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका स्थानीय पत्रकार आरपी उपाध्यायले बताए । उपाध्यायका अनुसार, भारतीय भूमि हुँदै जानु पर्दा पैदलयात्राबाट त्रिवेणीस्थित नदीबाट कम्तीमा साढे दुई घण्टा समय लाग्ने गर्छ ।