बुटवलमा तयार भयो उजिरसिंह फल्चा

भैरहवा– परम्परागत संस्कृतिलाई संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिकाले विभिन्न सांस्कृतिक संरचना निर्माणलाई जोड दिएको छ । पछिल्लो पटक लुम्बिनी प्रदेशको आर्थिक केन्द्रमा सम्पदा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले उजिरसिंह फल्चा तयार गरिएको छ ।
बुटवल–५, हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । नेवारी परम्पराअनुसार पाण्डेयले उजिरसिंह फल्चा र ढुंगेधाराको उद्घाटन गरेका थिए । फल्चाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले फल्चा निर्माण गरिएको बताए ।
‘नेवार संस्कृतिको संरक्षणका लागि फल्चा निर्माण गरिएको हो,’ उनले भने, ‘अरु जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारीहरु, विश्रामस्थलहरु निर्माण गरिनेछ ।’ बुटवलमा सार्वजनिक स्थलहरुमा विश्रामस्थलहरु, शौचालय, पिउने पानीको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको उनले बताए । बुटवलका मुख्य स्थलहरुमध्ये बसपार्कलाई सुधार गर्ने, मुख्य चोक चौराहाहरुमा उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने, मुख्य सडकहरुको दायाँबायाँ हरियाली बनाउने जस्ता कामहरु निरन्तर भइरहेको उनले बताए ।
बुटवल उपमहानगनरकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्न योग्य शहरका रुपमा स्थापित गर्ने उदेश्यका साथ सार्वजनिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न लागिएको बताइन् । बुटवललाई सबै जातजातिको अपनत्व हुने गरी संरचनाहरु निर्माण भएको उनले जनाइन् । नगर प्रवक्ता शिव राना र वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए ।
प्रतिकृया दिनुहोस्