May 12, 2025, Monday
२०८२ बैशाख २९

रूपन्देही र आसपासबाट सिमेन्ट र क्लिंकर निर्यात तीन गुणा बृद्धि

भैरहवा– रुपन्देही र आसपासमा सञ्चालनमा रहेका पाँच उद्योगले गरिरहेको सिमेन्ट र क्लिंकर निर्यात ३ गुणाले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ह्वात्तै बढेको हो । गत आर्थिक वर्ष २०८०–८१ मा नेपालबाट ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ  । आर्थिक वर्ष २०७९–८० मा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँले बढी हो ।

Advertisement

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार मूल्यका आधारमा ३९४.३९ प्रतिशत र परिमाणका आधारमा १८२.७८ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात बढेको हो । अघिल्लो आर्थिक वर्ष ३५ करोड ८९ लाख रुपैयाँ बराबरको सिमेन्ट र ४२ करोड ३ लाख रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो ।

गत आर्थिक वर्ष १ अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको ५ लाख ६ हजार ८४१ टन क्लिंकर निर्यात भएको छ । विभागका अनुसार १ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७६ टन तयारी सिमेन्ट निर्यात पनि भएको छ । नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै हो ।

पछिल्ला वर्षमा पाल्पा सिमेन्टको ब्राण्ड तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम, सीजी सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । त्यसबेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था थियो । तर, सिमेन्ट निर्यातले निरन्तरता पाउन सकेको थिएन ।

अहिले नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको छ । सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन्  । त्यसमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्  । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ ।

भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार रुपन्देहीको बेलहिया नाका हुँदै आर्थिक वर्ष २०८०–०८१ मा सिमेन्ट १ अर्ब ६५ करोड ८६ लाख ९ हजार र सिमेन्ट क्लिंकर १ अर्ब २० करोड २७ लाख ८९ हजार रुपैयाँको निर्यात भएको छ । बालाजी सिमेन्ट इण्डस्ट्रिजका प्रबन्ध निर्देशक रौनक अग्रवालले निर्यात राम्रो हुँदै गएको बताए । उनले सरकारले अझै सहजीकरण राम्रो गर्ने हो भने निर्यात थप बृद्धि हुने बताए । बालाजीले कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गर्दै आएको छ । अर्घाखाँची, तानसेन लगायतका उद्योगले बेलहिया नाका हुँदै सिमेन्ट निर्यात गर्छन् ।