May 12, 2025, Monday
२०८२ बैशाख २९

आरोहणका लागि थप ५७ वटा हिमाल खुल्ला गर्ने तयारी

भैरहवा– आरोहणयोग्य हिमाल खुल्ला गर्दै जाने नीति बमोजिम सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने तयारी गरेको छ । आरोहणका लागि खुल्ला गर्न लागिएको हिमाल पूर्वमा पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो छन् । पर्यटन बिभागले आरोहणका लागि ५७ वटा थप हिमाल खुल्ला गर्नका लागि सिफारिशसहित आवश्यक प्रकृया अगाडि बढाएको छ ।

Advertisement

पर्यटन विभाग निर्देशक राकेश गुरुङले नेपाल पर्वतारोहण संघ (एनएमए) सँगको सहकार्यमा थप हिमाल खुला गर्ने गरी सूची छनोट गरिएको बताएका छन् । हिमाल प्रवद्र्धनमा निजी क्षेत्रको अनुभव भएकाले नेपाल पर्वतारोहण संघको सहकार्यमा आरोहण खुला गर्ने हिमालको छनौट गरिएको उनले बताएका छन् ।

सरकारले सर्वोच्च शिखर सगरमाथासहित अहिलेसम्म ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला गरेको छ । आरोहण खुल्लाका लागि सिफारिश गर्न लागिएका हिमाल ५ हजार मिटरदेखि ६ हजार ५ सय मिटर उचाइसम्मका छन् । पर्यटन मन्त्रालयले सिफारिश गरेको सिफारिशलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि आरोहणका लागि खुला हुने प्राबधान छ ।

सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट तथा नीति तथा कार्यक्रममा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख थियो । आरोहणका लागि सरकारले सगरमाथालाई मात्र प्राथमिकता दिने गरेको र अन्य हिमाल प्रवद्र्धनमा ध्यान दिन नसकेको गुनासो आरोहण तथा पर्यटनसंग सम्बद्ध सरकोकारवाला निकायले गर्ने गरेका थिए ।

पर्यटन विभागले आरोहणका लागि खुल्ला गर्न लागिएका हिमालका वारेमा धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारण खुला गर्ने वा नगर्ने सम्बन्धमा कुनै दाबी–विरोध भए जानकारी गराउन आव्हान गरिसकेको छ । दावी बिरोधका लागि सम्बन्धित स्थानीय तहमा समेत पत्राचार गरिएको छ ।

कुनै–कुनै हिमाललाई स्थानीय स्तरमा कुनै जाती तथा समुदायले देवता तथा दैवी शक्तिको रुपमा मान्ने र प्रजाआजा गर्ने प्रचलनपनि रहने गरेकाले स्थानीय तह मार्फत् दावी–बिरोधकाका लागि पत्राचार गरिएको पर्यटन विभागका निर्देशक गुरुङले बताएका छन् ।

धार्मिक आस्था जोडिएका हिमाललाई सरकारले बेलाबेला बन्द गर्ने गरेको छ । खुल्ला गरिएकामध्ये अहिलेसम्म १८ वटा हिमाल आरोहणकालागि बन्द गरिएका छन् । ४ सय १९ हिमाल आरोहणमा आरोहण खुला गरे पनि ६८ वटा हिमालमा भने अहिलेसम्म कसैले पनि आरोहण गरेको छैन ।