June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

उद्घाटनको २७ महिना बित्दा पनि संचालनमा आएन शंकरनगरको भ्युटावर

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा निर्माण गरिएको भ्युटावर उद्घाटन भएको २७ महिना बितिसक्दा पनि अझै संचालनमा आएको छैन ।

Advertisement

आन्तरिक तथा बाह्य पर्यटकको आमगन बढाएर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले साढे ११ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भ्युटावरको २०७८ चैत १५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

भ्युटावर निर्माण सम्पन्न गरिए पनि ठेक्का सम्झौता अनुरुप निर्माण गरिनु पर्ने पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकैसाथ सञ्चालन गर्ने योजना थियो । त्यही अनुरुप ति संरचना निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाए पनि दोस्रो चरणको ति संरचनाहरु अझैसम्म पूरा नभएपछि ठेकेदार कम्पनीले सम्झौता नगरी बसेको छ ।

ति संरचना निर्माणका लागि तिलोत्तमा नगरपालिका र संघीय सरकारको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५ करोड बजेटमा काम सुरु गरिएको थियो । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरे पनि संघीय सरकारले उपलब्ध गराउनु पर्ने रकम नपठाएका कारणले संरचना पूरा नभएको बताए ।

नगरपालिकाका अनुसार अनुपम निर्माण सेवा कम्पनी पाल्पाले २०७९ साल साउनदेखि भ्युटावर चालु गर्ने गरी वार्षिक ३९ लाख ५० हजार रुपैयाँ बुझाएको थियो । एक वर्षको बैंक ग्यारेन्टी पनि उक्त कम्पनीले उपलब्ध गराएको थियो । असार अन्तिमसम्म आफूले राखेको सर्तहरू पूरा नभएपछि साउनदेखि संचालन गर्नका लागि ठेकेदार कम्पनीले संचालनको सम्झौता नगरेको हो । भ्युटावर बाहेकका निर्माण गरिनु पर्ने संरचनाहरु तयार हुनु पर्ने अडान ठेकेदार कम्पनीको छ ।

भ्युटावर निर्माण गर्दा ७० प्रतिशत खर्च तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत खर्च शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी हो । दोस्रो चरणमा निर्माण गरिनु पर्ने संरचनाको निर्माण संघीय सरकार र नगरपालिको लगानीमा गरिनु पर्ने थियो ।

दश तल्ले उक्त भ्युटावरको उचाइ १३४ फिट छ । जहाँबाट बुटवल, भैरहवा लगायतका आसपासका क्षेत्र सहजै देख्न सकिन्छ । दुरबिन लगायतका यन्त्रको सहयोगबाट भारतीय र चुरे पहाडी क्षेत्रका भूभाग देख्न सकिन्छ ।

टावरको छैटौं तलासम्म व्यावसायिक प्रयोजनका लागि र सातौं तलादेखि दृश्यावलोकनको लागि प्रयोग हुने संरचना बनइएको छ । भ्युटावरमा पर्यटक विश्राम स्थल, रेष्टुरेन्ट, अनुशन्धान कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, पुस्तकालय, शौचालय लगायतका संरचना निर्माण गर्ने भनिए पनि अहिलेसम्म भ्युटावर मात्रै तयार छ ।