May 12, 2025, Monday
२०८२ बैशाख २९

नेपाल भित्रिने पर्यटकलाई बेलहिया नाकामा एकीकृत सेवा

भैरहवा– रुपन्देहीको बेलहियामा पर्यटक लक्षित एकीकृत चेकजाँच सेवा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाल–भारत सीमा नाका बेलहियामा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी राखेर एकै ठाउँमा सुरक्षा र अन्य सबै किसिमका जाँच गर्ने गरी एकीकृत सेवा सुरु गरिएको हो ।

Advertisement

यसले जिल्ला भित्रिने पर्यटकलाई सुरक्षाकर्मीले ठाउँठाउँमा चेकजाँच गर्दा हुने झन्झट हट्ने र पर्यटकीय वातावरण बन्ने विश्वास गरिएको छ । यसअघि भारत तथा तेस्रो मुलुकबाट यो नाका हुँदै नेपाल भित्रिने पर्यटककले चेकजाँचका क्रममा दुःख पाउने गरेको धन्दै पर्यटन व्यवसायी र पर्यटकले गुनासा गर्थे । अब, भने यस्ता गुनासा अन्त्य हुने विश्वास गरिएको छ ।

सीमा नाका बेलहियामा स्थायी संरचना निर्माण गरेर एकै ठाउँमा चेकजाँचको व्यवस्था गरिएको हो । खासगरी सवारी साधन लिएर नेपाल आउने पर्यटकहरुलाई लक्षित गरी सेवा सुरु गरेको प्रशासनले जनाएको छ । ‘तेस्रो मुलुकका पर्यटकलाई अध्यागमन जानै पर्छ तर भारतीय पर्यटकलाई त्यहाँ जान पर्दैन । त्यसैले कुन–कुन निकायले के जाँच गर्नुपर्छ एकै ठाउँमा गर्छन्, त्यसपछि सवारी जिल्लाभर जाँच हुँदैन’, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘तर, सुरक्षा अधिकारीलाई शंका लागेमा भने जुनसुकै बेला जाँच गर्न सक्छन् ।’

एकीकृत विन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइने व्यवस्था गरिएको छ । ‘यस्ता सवारीले रुपन्देही भित्र सुरक्षा जाँच भइरहेको ठाउँमा अन्य कागजात नदेखाई त्यही कार्ड देखाएर गन्तव्यसम्म पुग्नेछन्’, अर्यालले भने । यसअघि सुरुमा भन्सार, सशस्त्र, नेपाल प्रहरी, ट्राफिक प्रहरीले जाँच गरेर मात्रै पर्यटकीय सवारी नाकाबाट गन्तव्यतर्फ लाग्थे ।

पछिल्लोपटक ट्राफिक प्रहरीले पर्यटकका सवारी चेकजाँच गर्न छाडेको थियो । सशस्त्र र नेपाल प्रहरीले मात्रै गर्थे । तर, अब एकीकृत सेवाबाट एकै ठाउँ सबै जाँच हुनेछ । बुधबार गृह सचिव एकनारायण अर्यालले एकीकृत सेवाको सुभारम्भ गरे । उनले प्रशासनको अगुवाईमा रुपन्देहीमा अनुकरणीय कामको थालनी भएको जनाए । ‘पर्यटनलाई हामीले समृद्धिको आधार मानेका छौं, धेरै भन्दा धेरै पर्यटक भित्र्याउन चाहन्छौं तर त्यसअनुसारको वातावरण सिर्जना गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यो काम रुपन्देहीबाट सुरु भएको छ । प्रशासनले नेतृत्व गरे पनि पालिका र निजी क्षेत्रबाट राम्रो साथ रहेछ, यसलाई निरन्तर दिनुपर्छ ।’

गृहसचिव अर्यालले एकीकृत जाँच विन्दुलाई मुलुकभरका सबै नाकामा कार्यान्वयनमा ल्याउन पहल गर्ने जनाए । ‘यस्तो कार्यक्रम मुलुकका सबै नाकामा सुरु गर्दा पर्यटकका लागि अझै सहज वातावरण बन्छ’, उनल भने, ‘रुपन्देहीको कार्यक्रमलाई निरन्तर गर्न मेरो आवश्यक सबै तयारी र पहल त रहन्छ नै, यसलाई थप विस्तार गर्ने काम समेत गृहप्रशासनबाट हुनेछ’, उनले भने । उनले नेपाल आउने पर्यटकले ल्याउने रकमको सीमा बढाउन पहल गर्ने समेत आश्वासन दिए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पर्यटक आएनन् भनेर मात्रै नहुने भन्दै पर्यटकीय वातावरण महत्वपूर्ण रहेको सुनाए । ‘हामीले बेलहिया–कोरला नाकाको कुरा गर्छौ, दुबैतिर सडक संजाल राम्रो बनाएर पर्यटक भित्र्याउने भन्छौं तर नेपाल आउने पर्यटकले दुःख र झन्झट भोग्दा राम्रो सन्देश जाँदैन’, उनले भने, ‘सबै ठाउँमा पर्यटकलाई एकीकृत र एकद्वार प्रणालीबाट सुविधा दिनुपर्छ ।’ उनले बेलहियाबाट भित्रिने पर्यटक सिद्धार्थनगरका मात्रै नभएर सिंगो रुपन्देही र मुलुकका लागि नै भएको भन्दै सबैले पर्यटकीय भाव राखेर उनीहरुको स्वागत, सत्कार र अप्ठ्यारोमा सहयोग गर्नुपर्ने जनाए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहम्मद खाँले बेलहियाबाट सवारीसहित भित्रिने पर्यटकले दुःख पाउने गरेको धेरै गुनासा आइरहेको जनाए । ‘यो कागज मिलेन, त्यो कागज मिलेन भनेर दुःख दिने काम हुन्छ’, उनले भने, ‘पाहुनालाई हाँसेर, सहज रुपमा स्वागत गर्नुपर्छ, त्यसका लागि एकीकृत जाँच सेवाले सहयोग पुग्ने छ ।’ उनले भारतीय पर्यटकले २५ हजार रुपैयाँ मात्रै ल्याएर आउनुपर्ने व्यवस्थालाई खारेज गरेर कम्तिमा दुई लाखसम्म ल्याउन पाउनुपर्ने व्यवस्था मिलाउन माग गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रका लागि एकीकृत जाँच सेवाले हर्षित बनाएको बताए । ‘चेकजाँचका नाममा हुने दुःख हट्नेछ, यसबाट हामी निकै खुशी छौं । अब, पर्यटक सहज रुपमा धेरै भित्रिन्छन् भन्ने विश्वास बढेको छ’, उनले भने, ‘दुईचार दिन संचालन भएर बन्द हुने अवस्था नआओस्, निरन्तरता होस् । निजी क्षेत्रबाट हुने सबै सहयोग हुन्छ ।’ उनले पर्यटकले बोकेर ल्याउने ५० हजार रुपैयाँ पनि विभिन्न बहानामा बरामद गरेर दुव्र्यवहार हुँदै आएको जनाए । ‘पर्यटक नेपालमा खर्च गर्न आउँछ, तर हामीले सीमामै तिमीले २५ हजार भन्दा बढी लैजान पाउँदैनौं भन्छौं, अनि कसरी पर्यटनको विकास हुन्छ’, उनले भने, ‘हामीले जति सक्छौं धेरै पैसा लिएर नेपाल आउ, खर्च गर, रमाउ र जाउ भन्न सक्नुपर्छ । सीमा तोकेर पैसा ल्याउनु पर्ने व्यवस्था हटाउनुपर्छ ।’

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले दशकौंदेखि आफूहरुले उठाउँदै आएका मागमध्ये एउटा माग बल्ल आएर पूरा भएको जनाए । ‘हामीले एकै ठाउँमा चेकजाँचको व्यवस्था गर भनेर माग गर्न थालेको दशक भयो, प्रमुख जिल्ला अधिकारी सकारात्मक सोंच भएका आउँदावित्तिकै कामको थालनी भयो’, उनले भने, ‘चाहेपछि काम गर्न सकिन्छ भन्ने उदाहरण यो हो । त्यसैले पर्यटकलाई नाकामा हुँदै आएका सबै झन्झट हटाउन लागौं ।’ उनले अध्यागमनको पनि सुधार गर्न पर्ने जनाए । यस्तै, पर्यटकले दुईतीन लाख रुपैयाँ ल्याउन पाउने व्यवस्था गर्नुपर्ने उनले जनाए । ‘हाम्रो सीमा २५ हजार छ, २५ हजारले पर्यटकले के गर्छ, एकै रातमा उक्त पैसा सकिन्छ’, उनले भने, ‘भोलिपल्ट पर्यटक र्फिर्कएर जान्छ । यसैले धेरै भन्दा धेरै पैसा ल्याएर आउन दिनुपर्छ ।’