July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

निर्माण पूरा नहुँदै कालोपत्र भत्कियो

Advertisement

गुल्मी– पक्की सडक निर्माण भएको हेर्ने गुल्मी बासीको सपना बल्लतल्ल १० वर्षमा पूरा त भयो । तर, सपनाले मूर्तरुप प्राप्त नगर्दै जिल्लाबासीमा निराशा छाएको छ । ठेक्का सम्झौता भएको १० वर्षपछि सडक कालोपत्र गर्न थालियो । तर, सडक पक्की निर्माण गर्ने काम नसकिँदै भत्किएपछि स्थानीय बासिन्दामा निराशा छाएको हो ।

Advertisement

तम्घास–खाम्सेपानी– नयाँगाउँ–नादी– सूर्यटारी सडक निर्माण पूरा नभएरै भत्किएको हो । ८ करोड ८४ लाख ८२ हजार रुपैयाँ लगानीमा यो सडक निर्माणको काम भइरहेको छ । तम्घास बजारदेखि सिस्नेखोलासम्म साढे २ किलोमिटर खण्डको निर्माण पूरा नहुँदै भत्किएको हो । अहिले जिल्लामा निर्माण कार्यको आलोचना भइरहेको छ । कम्पनी लोहनी एन्ड ब्रदर्सले २०७१ साल असार ३१ गते ठेक्का सम्झौता गरेको उक्त सडकको कालोपत्र गरिएको खण्ड उप्किएको छ ।

सडक छेउमा गाडिएका डेलिनेटर पोस्ट पल्टिएका छन् । झरीमा कालोपत्र गरेकोले एकैदिनमा पानीले सडक बगाएको रेसुङ्गा नगरपालिका–६ का सूर्यबहादुर सोमैले बताए । सडकको बीचमा खाडल परेका छन् ।

कालोपत्र बगेको छ । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सच्चितानन्द चौधरीले वर्षातको समय भएकोले कुनै ठाउँमा खाल्डाखुल्डी परेको हुनसक्ने बताए । कालोपत्र गर्दागर्दै उप्किएको सडक भने ठेकेदारले टालटुल पारेको उनको भनाइ छ ।