February 8, 2025, Saturday
२०८१ माघ २७

एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ भन्दा धेरै भुक्तानी

भैरहवा– चालु आव सकि नै लाग्दा सरकारले सोमवारमात्रै ३३ अर्ब ६१ करोड रुपैयाँ भन्दा धेरै सरकारी खर्चको भुक्तानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, ९ अर्व ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ भने १४ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजिगत खर्चको भुक्तानी गरिएको छ । वित्तीय व्यवस्थापन खर्च ९ अर्ब ३५ करोड भन्दा धेरै भएको छ ।

Advertisement

चालु आव २०८०–०८१ का लागि अति अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसक्नु पर्ने अन्तिम दिन भएकाले सोमबारमात्रै यति धेरै रकम एकै दिन भुक्तानी भएको हो । अहिलेसम्म सरकारको पुँजिगत बजेट कार्यान्वयन ५७ प्रतिशत पुगेको छ । चालु आवका लागि सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट विनियोजन गरेको थियो । अहिलेसम्म १ खर्ब ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व नियमावलीमा आर्थिक वर्ष सकिने अन्तिम सातामा नयाँ दायित्व सिर्जना हुने गरी खर्च गर्न नपाइने कानुनी प्राबधान छ । अत्यावश्यक बाहेकको कुनै पनि किसिमको खर्च अन्तिम सातामा भुक्तानी गर्न पाइँदैन ।

अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नु पर्ने. प्रावधान छ ।
चालु आवलाई चालु खर्च ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा अहिलेसम्म जम्मा ८१ प्रतिशत खर्च भएको छ । ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन खर्च विनियोजन गरिएकोमा हालसम्म ८१ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको थियो । अहिलेसम्म १३ खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको छ । १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिए पनि त्यस अनुरुप यस वर्ष खर्च हुन सकेन ।