धमाधम बन्दैछन् देउखुरीमा मन्त्रालयका भवन (फोटोफिचर)

भैरहवा– लुम्बिनी सरकारले प्रदेश राजधानी दाङको राप्ती उपत्यकास्थित देउखुरीमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवनमध्ये पहिलो चरणमा ९ वटाको काम भइरहेको छ भने ३ वटाको सुरु हुने क्रममा छ ।
अहिले ९ वटा मन्त्रालयको भवन निर्माणको काम जारी छ । ठेकेदारले निर्माणको कामलाई तिव्रता दिएको प्रदेश सरकारका निमित्त प्रमुख सचिव महादेव पन्थले जानकारी दिए । देउखुरीको मध्य भागमा ६ तले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पूर्वी–उत्तरतर्फ ९ वटा मन्त्रालयका पाँच तले प्रशासनिक भवन एकै ठाउँमा धमाधम निर्माण भइरहेका हुन् ।
अहिले प्रदेशसभा सचिवालय र प्रदेशसभा भवन निर्माण भएका छन् । भ्याटसहित ४७ करोड १७ लाख २६ हजार रुपैयाँ लागतमा ०८९ जेठ १५ गतेभित्र सम्पन्न हुने गरी एक तलाका ६ वटा संसदीय दलका कार्यालय, ३ तले विषयगत समितिका भवन, एउटा पुस्तकालय र एक चमेना गृह निर्माणको काम सम्झौता पश्चात सुरु भएको छ ।
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिभिल इन्जिनियर शंकर सुवेदीले पहिलो चरणमा पाँच अर्बको लागतमा ९ वटा मन्त्रालय निर्माणको काम धमाधम भइरहेको बताए । ‘करिब ३ अर्बको लागतमा ९ वटा मन्त्रालयको भवन निर्माणको काम जारी छ’ सुवेदीले भने, ‘अन्य दलको कार्यालयसँगै प्रदेश सभाको क्यान्टिन र लाइब्रेरीको लागि थप २ अर्ब गरी पाँच अर्ब यी संरचना तयार गर्न लागत लाग्नेछ ।’
राजधानी विकासका लागि भने पाँच–पाँच वर्षको चारवटा प्याकेजमा काम हुनेछ । पहिलो चरणमा प्रदेश सरकारका प्रशासनिक भवन निर्माण हुनेछन् भने त्यसपछि राजधानीलाई ब्यूटिफिकेशन गर्ने, लगायतका काम हुनेछन् । त्यसका लागि पीपीपी मोडलमा काम गर्ने तयारी छ । यी सबै कामका लागि करिब १ खर्ब रुपैयाँ बजेट लाग्ने अनुमान छ । प्रदेश सरकारको प्रशासनिक भवन निर्माणको काम अहिलेसम्म ६० प्रतिशत भौतिक र साढे १८ प्रतिशत वित्तीय प्रगति भएको बताए ।
सबै मन्त्रालय एउटै मोडलमा निर्माण भइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९६ कोठासहित ६ तले हुनेछ । दुईवटा लिफ्ट रहने छन् । ९ वटा मन्त्रालयका भवन सबैमा ५४ कोठा हुनेछन् । त्यसमा एउटा बैठक कक्ष, मल्टिपर्पोज मिटिङ हल हुनेछ । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालयका भवनको अन्डरग्राउण्ड पार्किङको व्यवस्था छ । मन्त्रालयमा लिफ्टको व्यवस्था हुनेछ । भुइँतला अपांगमैत्री र अरु तलामा लिफ्टसहित एचभीएसी सुविधा सम्पन्न कोठा हुनेछन् । सबै मन्त्रालय वरपर रूख र फूलबारी बनाइने छ । निर्माणका लागि शर्मा सुगन भेवी कम्पनीले भ्याट बाहेक ३ अर्ब ९ करोड रुपैयाँको लगानीमा काम गरिरहेको छ ।
२०७९ मंसिर २८ गते सम्झौता भइ पुस १८ गतेबाट काम सुरु गरेको कम्पनीले ०८२ पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । राजधानीका प्रशासनिक संरचनाभित्र ११ सय मिटर बाटोसहित आन्तरिक सडक सञ्जाल हुनेछ । यसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालयमा सहज सेवाको लागि संरचना र सडक सञ्जालले जोड्ने छ । सडकको चौडाइ नाली र फुटपाथसहित १० मिटरको हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सेतो रङ्गको हुनेछ । अरु मन्त्रालय छानासहित नेपाली रातो र सेतो कलरमा रंगाइनेछ । सबै मन्त्रालय आउजाउ गर्न पैदल यात्रा, भुइँतला अपांग मैत्री र अरू तलामा लिफ्टको व्यवस्था रहने छ । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालयको प्रशासनिक भवन सहरी विकास मन्त्रालयको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइले बनाउने जिम्मामा रहेको छ ।
चर वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षपछि २०७९ मंसिर २८ गते बुटवलबाट प्रदेशको राजधानी देउखुरी सारिएको थियो ।
प्रतिकृया दिनुहोस्