January 25, 2025, Saturday
२०८१ माघ १३

संकटमा पनि सरकारले साथ दिएनः ईंटा उद्योगी

भैरहवा– सरकारी र निजी दुवै क्षेत्रबाट ईंटाको मागमा आएको कमीले यस पटकको सिजनमा पश्चिम तराईका रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासी जिल्लामा संचालित ईंटा उद्योगमध्ये आधाभन्दा धेरै संचालनमा आउन सकेनन् । उद्योगको संरक्षणका लागि सरकारी स्तरबाट उपयुक्त नीति अवलम्बन गरि राहतको प्याकेज ल्याउन व्यवसायीले माग गरेका छन् । पश्चिम तराईका सयौं ईंटा उद्योग संकटमा रहेको र यस पटकको सिजनमा आधा भन्दा धेरै उद्योग संचालन नभएर बन्द भएको व्यवसायीले जनाएका छन् । यस्तो विषम् परिस्थिति र संकटमा पनि सरकारले साथ नदिएको उद्योगीको गुनासो छ ।

Advertisement

भैरहवामा आयोजित लुम्बिनी ईंटा उद्योग व्यवसायी संघको २५औं वार्षिक साधारण सभामा सहभागी ईंटा व्यवसायीले विश्व माहामारीको रुपमा पैmलिएको कोभिड–१९ पछि नोक्शानी बेहोर्दै आएको ईंटा उद्योगले पछिल्ला दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आएको आर्थिक मन्दीले धरासायी अवस्थामा पुग्न थालेको बताए ।

‘आर्थिक मन्दीका कारण ईंटाको मागमा कमी आएपछि पश्चिम तराईका रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासी जिल्लामाका ईंटा उद्योगमध्ये एक तिहाइ उद्योगमात्र यस पटक संचालन भए’, लुम्बिनी ईंटा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजयकुमार गुप्ताले भने, ‘सरकारीस्तरबाट उपयुक्त नीति र पुँजिगत बजेटको कार्यान्वयन हुन नसक्दा पनि यी उद्योग संकटग्रस्त अवस्थामा छन् ।’

संघका अनुसार, रुपन्देहीमा रहेका ५२ वटा ईंटा उद्योगमध्ये यस पटकको सिजनमा २२ वटामात्र संचालन भए । कपिलबस्तुमा रहेका ८७ वटा उद्योगमध्ये ३२ वटा र पश्चिम नवलपरासीमा रहेका १८ वटा उद्योगमध्ये ८ वटामात्र संचालन भए । संचालनमा आएका उद्योगले पनि ५० देखि ६० प्रतिशत उत्पादन कटौती गरेका छन् ।

लुम्बिनी प्रदेश ईंट्टा व्यवसायी संघका सल्लाहकार तथा व्यवसायी सफर अलिमियाँले ईंटाको मागमा आएको गिरावटले यस पटकको सिजनमा आफ्नो उद्योग बन्द रहेको र सरकारको अस्थिरताले गर्दा उद्योग संरक्षण हुने बातावरण नबनेको बताए । ईंटा उत्पादनका लागि प्रयोग गरिने कोइलाको अन्तर्राष्ट्रिय बजारमा भएको अभाव र मूल्यमा भएको शतप्रतिशत बृद्धि, पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि, बैंकको ब्याज दर बढ्नु, ऋणको व्याज तथा किस्ता भुक्तानीका लागि बैंकले कुनै सहुलियत नदिएर कडाइका साथ ताकेता गर्नु, कच्चा पदार्थ माटो, भष्कटको अभाव र मूल्य तथा कर बढाइनु एवं ईंटाको प्रयोग गर्नु पर्ने निर्माण कार्यमा कंक्रिट, ढुंगा र एसीसी ब्लकको निर्माण गर्नु लगायतका कारणले ईंटा व्यवसाय धरासायी हुन पुगेको दावी व्यवसायीको छ ।

संघका महासचिव तथा व्यवसायी दीपक पौडेलले सरकारी स्तरबाट हुने विकास निर्माणका कार्य सुस्ताएको र निजी क्षेत्र आर्थिक मन्दीले आफ्नो परिवारको जिविकोपार्जन धान्ने अवस्थामा हुँदा निर्माणका कार्यको योजना स्थगित गर्नाले ईंटाको मागमा गिरावट आएको बताए । सिद्धार्थनगरका पूर्व नगर प्रमुख तथा उद्योगी हरिप्रसाद अधिकारीले संघ, प्रदेश र स्थानीय सरकारले करको दर र दायरा बढाउँदा सम्बन्धित व्यवसायीसँग समन्वय गर्नु पर्ने बताए । सरकारको अदुरदर्शी नीतिका कारण मुलुकको जुनसुकै व्यवसाय पनि ध्वस्त हुन थालेको आरोप उनले लगाए ।

घरेलु तथा साना उद्योग महासंघ लुमिबनी प्रदेशका अध्यक्ष नेत्र पाठकले हरेक क्षेत्रमा बिमा हुने तर ईंटा व्यवसायमा नहुँदा यो व्यवसायमा जोखिम धेरै भएको र समस्यामा परेको बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा ईंटा व्यवसायी वसिउद्दीन खाँनले व्यवसायीबीच पेशागत इमान्दारिता र एकताको आवश्यकता रहेको बताए । ‘व्यवसायीबीच पेशागत इमान्दारिता र एकता कायम रहेमा जस्तैसुकै पनि लडाइ लड्न सकिन्छ’, उनले भने, ‘सरकार र व्यवसायीबीच समन्वय गर्न र माटो, भष्कट लगायतका कच्चा पदार्थ सहज रुपमा उपलब्ध गराउनमा मेरो समन्वयकारी भूमिका रहने छ ।’

लुम्बिनी प्रेस क्लवकी अध्यक्ष सम्झना शर्मा, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, रुपन्देही उद्योग संघका दिलीप सापकोटा लगायतले पनि स्वदेशका उद्योगको अवस्था र सरकार तथा व्यवसायीले खेल्नु पर्ने भूमिका वारे आआफ्नो धारणा व्यक्त गरेका थिए । साधारणसभाको अवसमार विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।