February 8, 2025, Saturday
२०८१ माघ २७

संसदीय उपसमितिद्वारा गौतमबुद्ध विमानस्थलबारे अध्ययन सुरु, तत्काल संचालन गर्न निजी क्षेत्रको माग

भैरहवा– मुलुककै दोस्रो ठुलो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा देखिएको समस्याबारे प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिद्वारा गठित संसदीय उपसमितिले अध्ययन थालेको छ । यस्तै, विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता भएको आंशकामा जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा उपकरण खरिदबारे पनि अनुसन्धान सुरु भएको छ । प्रतिनिधिसभा सदस्य योगशकुमार भट्टराई नेतृत्वको टोलीले आइतबार र सोमबार सरोकारवाला निकायसँग रायसुझाव संकलन गर्दै अध्ययन तथा अनुसन्धान सुरु गरेको हो ।

Advertisement

अर्बौं रुपैयाँ खर्चेर निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वष भइसक्दा पनि पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन । सुरुमा उडान भरेका एयरलाइन्सले समेत भैरहवाबाट उडान स्थगित गर्दा अहिले विमानस्थल अन्तर्राष्ट्रिय विजनेशबिहीन छ । यस्तो अवस्थामा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिद्वारा गठित संसदीय उपसमितिले भैरहवा आएर अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर प्रस्ताव सुरु भएदेखि गुरुयोजना, लागत, ठेक्का, निर्माण र पूर्णक्षमतामा संचालनमा देखिएका समस्याबार अध्ययन गरेको छ । उपसमितिले विमानस्थलको निरीक्षण गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय, आयोजना, रुपन्देहीबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसद, पालिकाका जनप्रतिनिधि, निजी क्षेत्र लगायत सरोकारवालासँग छलफल गरी रायसुझाव संकलन गरेको छ ।

छलफलमा निजी क्षेत्र र यहाँका जनप्रतिनिधिले सरकारी उदासिनताकै कारण विमानस्थल पूर्ण क्षमतामा चल्न नसकेको जनाए । आफ्नै स्वामित्वको नेपाल एयरलाइन्स समेत भैरहवामा ल्याएर संचालन गर्न नसक्ने सरकारले काठमाडौं केन्द्रित रहेर काम गरिरहेको आरोप लगाए । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर विमानस्थल बनाएकाले अब डेटलाइन दिएरै पूर्ण क्षमतामा संचालनका लागि लेखा समितिले पहल गर्ने अपेक्षा राखे । विमानस्थल नचल्दा निजी र सरकारी गरी एक खर्ब बढी रकम डुब्ने स्थितिमा पुगेको गुनासो गरे ।

रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवालाले विमानस्थल यथाशिघ्र पूर्ण सञ्चालनको वातावरण बनाउन माग गरे । सहभागीले सरकार र निजी क्षेत्रको लगानी डुब्न लागेकाले यहाँबाट छिटो अन्तर्राष्ट्रिय उडान व्यवस्था गराउन माग गरेका हुन् । नियमित उडान माग गर्दै यहाँस्थित निजी क्षेत्र आन्दोलित छ । अनुगमनका लागि आएको उपसमिति समक्ष उद्योगी, व्यवसायी, जनप्रतिनिधि र नागरिक अगुवाले राज्यले नीतिगत निर्णय गरी अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । ‘काठमाण्डौं केन्द्रित नीतिलाई अब संघीयता अनुसार बनाउनु पर्यो,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यदि उपसमिति साँच्चिकै विमानस्थल चलाउनुपर्छ भन्ने उद्देश्यले आएको हो भने यहाँबाट विमान उडाउन आवश्यक नीतिगत निर्णय गर्नुस् ।’

विमानस्थलको अनुगमनका लागि उपसमिति संयोजक योगेश भट्टराई समेत लेखा समितिका आठ जना सांसद आएका छन् । छलफलका क्रममा सांसदले उडान नहुँदा यहाँस्थित निजी क्षेत्रले भोग्नु परेको पीडा महशुष गरेको बताएका थिए । ‘माननीय ज्यूहरुले हाम्रो पीडा महशुष गर्नुभयो,’ श्रेष्ठले भने, ‘हामी लामो समयदेखि अनुभव गर्दै आएका छौं ।’ विमानस्थलप्रति सरकारको सकारात्मक सोच र इच्छाशक्ति हुने हो भने सञ्चालन गर्न कठिनाई नहुने उनले बताए । ‘विभिन्न मुलुकका राजदूत बोलाएर विमान उडाउनेबारे छलफल सम्म गरिएको छैन,’ उनले भने, ‘श्रम स्वीकृति लिन र स्वास्थ्य जचाउन काठमाडौं धाउनुपर्ने अवस्थामा कसरी उडान थपिन्छन् ।’

सिद्धार्थ होटल एशोसियनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल निर्माणमा सरकारको ४० अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको सुनेको बताए । विमान सञ्चालन भएर पर्यटन बृद्धि हुने आशमा निजी क्षेत्रले त्यसको दोब्बर ८० अर्ब रुपैयाँ होटल तथा रेष्टुरेन्टमा लगानी गरिसकेको उनले बताए । ‘बैंकको ऋण लिएर लगानी गर्ने व्यवसायीको अवस्था दयनीय अवस्थामा पुगेको छ,’ उनले भने, ‘लामो समयदेखि निजी क्षेत्रले दबाब दिँदै आए पनि सरकारले मागको सुनुवाई गरेन ।’ अन्तर्राष्ट्रिय उडान सुरु गर्न काठमाडौं केन्द्रित म्यानपावर, ट्राभल एजेन्सी लगायतलाई विकेन्द्रित गरिनुपर्ने उनको भनाई थियो । विमानस्थल सञ्चालन गर्न सरकार नै उदासीन रहेको उनले बताए । ‘लगातार दबाब दिइरहेका छौं,’ उनले भने, ‘त्यही पनि सरकार सुन्दैन ।’

उपसमिति संयोजक योगेश भट्टराईले पर्यटन व्यवसायी, उद्योगी, नागरिक समाजको भावना विमानस्थल छिटो सञ्चालनमा आवस भन्ने रहेको बताए । यहाँका सरोकारवालको भावना अनुसार यसको सञ्चालनमा देखिएका समस्या समाधान गरेर जसरी हुन्छ भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने वातावरण तयार गर्नका लागि उपसमितिले सरकारलाई सुझाव दिने बताए । सार्वजनिक लेखा समितिको बैंठकले यसको निर्माण पक्रियादेखि अहिलेसम्मको अवस्थाबारे अध्ययनका लागि उपसमिति गठन गरेको उनले बताए ।

‘विमानस्थलमा अहिलेसम्म कुन निकाय कति लगानी भयो, यसको आवश्यकता र डिजाइन, निर्माणको उद्देश्यका साथै राज्यको लगानी र सञ्चालनका सम्बन्धमा जानकारी लिइरहेका छौ,’ उनले भने, ‘निजी क्षेत्रको लगानी र प्रतिफलका विषयमा पनि हामीले बुझेका छौं ।’ उपसमितिले आइतबारन विमानस्थल व्यवस्थापन, अध्यागमन, भन्सार र विमानस्थल सुरक्षा निकायका प्रमुखसित छलफल गरेको थियो । ‘विमानस्थल व्यवस्थापनसित धेरै विषयमा प्रश्न सोधेका छौं,’ कति प्रश्नका उत्तर आएका छन, कतिको उत्तर आएको छैन । त्यसैले माथिल्लो निकायमा पनि सोध्छौं ।’
रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेल, ५ का सांसद बासुदेव घिमिरे, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त, पूर्व अध्यक्ष सागर अधिकारी, लुम्बिनी होटल संघ नेपालका महासचिव पुरुषोत्तम अर्याल लगायतल तत्काल ठोस कदम चालेर विमानस्थल चलाउनु पर्नेमा जोड दिए ।

विमानस्थलमा उद्घाटनयता अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न भन्दै अवतरण, गृह आश्रय, पार्किङ, संचार तथा उड्डयन सहाय शुल्क, सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिइएको छ । तर, पनि अन्तर्राष्ट्रिय एयरलाइन्सहरु गौतमबुद्ध विमानस्थलमा आकर्षित हुन सकेका छैनन । संसदीय उपसमितिले यहाँ आएर अध्ययनका क्रममा विमानस्थल संचालनार्थ आवश्यक मेडिकल, भिसा सेन्टर, म्यानपावर र बीमा कम्पनी अझै नभएको, टर्मिन भवन साँगुरो भएको, जग्गा अधिग्रहण र मुआब्जा वितरणमा अनियमितता भएको लगायतका विषयमा आवाज उठेको जनाएको छ । यस्तै, एयररुटको समस्या, इन्स्टु«मेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालनमा समस्या देखिएको जनाएको छ । यी सबै विषयलाई समेटेर र आवश्यकताका आधारमा तत्कालीन र अहिलेका निर्णयकर्ताहरुको बयान लिएर उपसमितिले प्रतिवेदन तयार पार्ने जनाएको छ । यस्तै, विमानस्थल संचालनका लागि आवश्यक ठोस योजना समेत पेस गरिने छ ।

विमानस्थलबाट उद्घाटनको लामो समयसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रका व्यवसायी चिन्तित छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा २०७१ माघ १ मा निर्माण सुरु भई २०७९ जेठदेखि विमानस्थलबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । तर, अहिले व्यवसायिक उडान ठप्प छ । यो आयोजनामा सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । विमानस्थललाई लक्षित गरेर यसको दोब्बर निजी क्षेत्रबाट लगानी भएको छ । तर, विमानस्थल ठप्प हुँदार चिन्ता थपिएको छ । यस्तोबेला विमानस्थल संचालनको तयारी स्वरुप लेखा समितिले सुरु गरेको अध्ययनले सही निचोड निकाल्ने र त्यो कार्यान्वयन हुँदा विमानस्थल पूर्ण क्षमतामा चल्ने विश्वास निजी क्षेत्रको छ । भट्टराई नेतृत्वको ८ सदस्यीय संसदीय उपसमितिले अधिकतम महिना दिन भित्र लेखा समितिमा विमानस्थलबारे प्रतिवेदन पेश गर्ने छ ।

भट्टराईको संयोजकत्वमा रहेको उपसमितिमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सदस्य छन् । १२ सय बिघामा फैलिएको विमानस्थलमा उद्घाटन दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित उडान भरेको थियो । २०८१ वैशाखसम्म जजिराले भैरहवामा १ सय १० वटा उडान गर्यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान मात्रै गरेर पुनः काठमाडौंमै फर्किएको थियो । गत वर्ष जेठदेखि सातामा एक दिन (मंगलबार) नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आउने उडान भैरहवा टचडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउँदै आएको छ  ।