तिलोत्तमाले ल्यायो २ अर्ब ७६ करोड ६२ लाखको बजेट

तिलोत्तमा– कृषिको आधुनिकीकरण, शिक्षा, सडकको पूर्वाधार विकासलाई प्राथमिकता राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । नगरको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने थोरै मात्र नयाँ कार्यक्रम समावेश गरिएको छ ।
पालिकाको दोस्रो नगर सभा तथा पाँचौँ अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले आगामी आर्थिक वर्ष २०८१–२०८२ का लागि कुल २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् । उक्त बजेटमा चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको चौधरीले बताइन् ।
नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशिलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । पालिकाले सडक सौन्दर्यीकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको उनले सुनाइन् । आगामी वर्ष पालिकाले ३२ करोड ६६ लाख २५ हजार अन्तरिम राजश्वतर्फ संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तानतरण तथा बजेटबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य राखेको छ ।
बजेटमा स्वास्थ्यतर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अभिवृद्धि, कृषिको व्यवसायीकरण, पूर्वाधार विकासमार्फत नगर रूपान्तरण, पर्यटन पूर्वाधार तथा पुरातात्विक स्थलको संरक्षणलाई प्राथमिकतामा राखिएको चौधरीले बताइन् ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार विनियोजन गरिएके छ । नमुना कृषक प्रवद्र्धन, कृषिको आधुनिकीकरण, धान खेती बृद्धि, किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरि कृषिमा २ करोड ३७ लाख ७९ हजार छुट्याइएको छ । पूर्वाधार विकासमा पनि करोडौं बजेट विनियोजन गरिएको छ । पालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो ।
प्रतिकृया दिनुहोस्