धौबादी फलाम खानीमा १५ करोड टन भन्दा धेरै फलामको भण्डार
भैरहवा– पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी डाँडामा १५ करोड टन भन्दा बढी कच्चा फलामको भण्डार भएको एक अध्ययनले देखाएको छ । ६ वर्ष अघि त्यहाँ दश किलोमिटर क्षेत्रफलमा फैलिएको फलाम खानी भेटिएपछि खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाटै फलाम खानीको अध्ययन सुरु गरेको थियो ।
धैबादी खानीबाट फलाम निकाल्न सरकारले २०७६ सालमा धौवादी कम्पनी गठन गरेको थियो । कम्पनीका भूगर्भविदको संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करिब १५ करोड टनभन्दा बढी कच्चा फलामको भण्डार भएको देखाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले जनाएका छन् ।
धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा जान्न सरकारले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा ५ टन फलाम परीक्षणका लागि पठाएको थियो । चिनियाँ उक्त कम्पनीको प्रयोगशालाले त्यस खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो ।
नवलपुरको जिल्ला सदरमुकाम कावासोती बजारबाट २७ किलोमिटर उत्तरमा महाभारत पर्वत श्रृखंलामा रहेको धौवादीमा फलाम खानी भेटिएपछि सरकारले उत्खननका लागि प्रक्रिया अघि बढाएको छ । यस वारेमा धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवदेन पुरा भैसकेको छ । प्रतिवेदनले २०८४ सालदेखि उत्पादन सुरू गर्न सकिने उल्लेख गरेको छ । एक महिना अघि धौवादी फलाम कम्पनीलाई अध्ययन प्रतिवदेन बुझाइएको हो । दुईवटा भारतीय र एकवटा नेपाली कम्पनिले अध्ययन प्रतिवेदन तयार पारेका थिए ।
‘धौवादी फलाम खानीमा आधारित आइरन–स्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भइसकेको छ,’ धौबादी कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दको भनाइ उद्धत गर्दै केही संचार माध्यममा उल्लेख गरिएको छ, ‘प्रतिवेदन अनुसार आइरन–स्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएको छ ।’ २०८४ सालदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको चन्दले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्