रूपन्देहीका सांसदको प्राथमिकतामा नपरेको विमानस्थल
भैरहवा– गत हप्ता संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । बजेटमा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका केही बोलिएन । यसले यहाँको निजी क्षेत्र निकै निराश छ । निजी क्षेत्रले पटकपटक मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर विमानस्थललाई पूर्ण क्षमतामा संचालनको माग गरिरहेको छ । बजेटमै विमानस्थलबारे केही उल्लेख नभएपछि निजी क्षेत्र निराश हुने स्वविभाक हो ।
निजी क्षेत्रमा विमानस्थलबारे चरम निराशा हुँदा रुपन्देहीकाका ५ क्षेत्रबाट निर्वाचित संघीय सांसद भने चुपचाप छन् । पूर्वअर्थमन्त्री समेत रहेको नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल समेत यसबारे केही बोलेका छैनन् । विगतमा विमानस्थल संचालनबारे ठूलाठूला कुरा गर्दै आएका पौडेल चुप रहँदा क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्मा, ३ का दीपक बोहरा, ४ का सर्वेन्द्रनाथ शुक्ला र पाँचका बासुदेव घिमिरेले पनि आवाज उठाएनन् । बोहरा स्वास्थ्य समस्याका कारण बोल्नै सक्दैनन् । पौडेले रुपन्देही २ बाट निर्वाचित सांसद हुन् ।
४० अर्ब खर्चिएर बनाइएको विमानस्थल अहिले विजनेशबिहीन छ । कर्मचारी फुर्सदिला छन् । खर्च धान्नै सकस छ । यसले राज्यलाई ठूलो व्ययभार बढाउँदै लगेको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ । कनेक्टिभिटी विस्तार गरेर फुलफेजमा विमानस्थल संचालनको माग गरिरहेका व्यवसायी भएका उडान पनि रोकिँदा चिन्तित छन् । तर, चुनावमा विमानस्थललाई एजेण्डा बनाएर निर्वाचित सांसद भने रमिते जस्तै छन् । उनीहरुले विमानस्थल संचालनका लागि पहल त टाढाको कुरा यसबारे एक शब्द ओकलेको सुनिँदैन । सांसदहरुले निर्वाचन जितेपछि विमानस्थल संचालनका लागि कुनै पहल नगरेको दुखेसो पर्यटन व्यवसायीको छ ।
‘विमानस्थललाई लक्षित गरेर लगानी गरेका व्यवसायी पुर्पुरोमा हात लगाएर बसेका छन्, विडम्बना हाम्रा सांसदलाई सरकार बनाउने र मन्त्री बन्ने खेलमा सहभागी हुन मात्रै ठिक्क छ’, सिद्धार्थ होटल संघका बरिष्ठ उपाध्यक्ष एवं पर्यटन व्यवसायी किशोर जोशीले भने, ‘निर्वाचनमा एजेण्डा बन्यो, नेताले जितेर गए, अहिले सेलायो । हामी व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौं ।’ विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा मात्रै २०–३० अर्बको लगानी भएको व्यवसायीको दावी छ । यस्तै, विमानस्थल लक्षित साना तथा घरेलु उद्योग, होटल तथा रेष्टुरेन्ट, समाज सेन्टर, कृषिउपज धेरै संचालनमा आएका छन् । कयौं धमाधम निर्माण भइरहेका छन् । अहिले विमानस्थल ठप्प हुँदा लगानी गरेरका व्यवसायीलाई ‘आकाशको फल, आँखातरि मर’ भन्ने भएको छ ।
‘बैंकको ब्याजले थिचोमिचो भएका व्यवसायी विमानस्थल पूर्ण क्षमतामा चले व्यवसाय केही उकासिन्छ की भन्ने आशमा थिए’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अहिले विमानस्थल ठप्प भएको छ, संचालनका लागि निजी क्षेत्रले गरेको पहलमा सरकारले साथ दिएका छैन । यस्तै अवस्था रह्यो भने व्यवसायी पलायन हुने अवस्था आउँछ ।’ विमानस्थललाई मुख्य एजेण्डा बनाएर निर्वाचित भएका एमाले उपाध्यक्ष पौडेल मुलुकको अर्थमन्त्री बनिसकेका नेता हुन् । तर, उनको पहलकदमी पनि केही देखिँदैन ।
चुनावमा विमानस्थलको योजना मैले ल्याएको हुँ भनेर खुबै प्रचार गरेका क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा बरिष्ठ नेता बोहराले निर्वाचन जितेर काठमाडौं गएपछि विमानस्थलबारे कुनै चासो दिएका छैनन् । क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद विश्वकर्मा, २ बाट निर्वाचति पौडेल, ४ बाट निर्वाचित शुक्ला, ५ बाट निर्वाचित घिमिरे र १० वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यले पनि विमानस्थलबारे चासो देखाएको पाइँदैन । सुरुमा उडान सुरु गरेको जजिरा र बीचमा केही समय उडान भरेको हिमालय एयरले उडान रोकेको वर्ष वितिसकेको छ ।
व्यवसायीले जजिरा र हिमालयले उडान स्थगित गरे पनि नेपाल एयरलाइन्स मार्फत् भए पनि विमानस्थललाई चलायमान गराउनु पर्ने बताउँछन् । तर, हप्तामा एउटा कनेक्टिङ उडान भए पनि नियमित छैन ।
विमानस्थल बनाउनुको मुख्य उद्देश्य बौद्धिष्ट मुलुकहरुमा कनेक्टिभिटी बढाउने र बौद्ध मार्गीहरुलाई लुम्बिनी ल्याउने हो । तर, विमानस्थल संचालनमा आएको २ वर्षसम्म पनि बौद्धिष्ट मुलुकहरुमा उडान गर्ने कुनै तयारी गरिएको छैन । विमानस्थल संचालनमा समस्यै समस्या छन् । कुनै पनि समय भिजिविलिटी (आँखाले देख्न सक्ने दूरी) नपुग्दा जहाज उडान–अवतरण प्रभावित नहोस् भनेर विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आईएलएस) अथार्त् थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण जडान गरिएको छ । तर, उक्त आइएलएस संचालनमा भारतको सहमति नल्याउँदा अहिले उडान प्रभावित हुँदै आएका छन्् । भारतले अझै सिधा एयर रुट दिएको छैन ।
भारतीय नागरिकले विमानस्थल प्रयोग गरेर बाह्य मुलुकमा जानका लागि नो–अब्जेक्सन लेटर दिने व्यवस्था गरिएको छैन । विमानस्थलको सुविधा बृद्धि हुन सकेको छैन । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक सेवाहरु भिसा सेन्टर, बीमा, स्वास्थ्य परीक्षण संस्था, अभिमुखीकरण तालिम प्रदायक संस्था, म्यानपावर कम्पनी लगायतका समस्या छन् ।
‘अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई आकर्षित गर्न के–के गर्ने भन्ने योजना पनि भएनन्, यसमा सरकारले कुनै पहल नगरेको देखियो’, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘जसले गर्दा विमानस्थल फुलफेजमा संचालनमा हुनै सकेन ।’ विमानस्थलमा एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीले यसको भविष्यबारे अनेक लख काट्न थालेका छन् । धेरैलाई चिन्ता लगानी डुब्ने हो की भन्ने छ । ‘हामीले सुरुदेखि विमानस्थलबाट कनेक्टिभिटी बढाऔं । धेरै एयरलाइन्सहरु ल्याऔं भनिरहेका थियो । त्यो हुन सकेको थिएन । तर, एकदुईवटा अन्तर्राष्ट्रिय उडान हुँदा चहलपहल बढेको थियो, थोरधेर होटल तथा अन्य व्यवसाय चलेका थिए’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले भने, ‘अहिले त संचालनमा आएका उडान पनि रोकिएको छ । सरकारले यसमा ध्यान दिएन की भन्ने हाम्रो चिन्ता हो ।’
उनले कम्तिमा यस क्षेत्रबाट जितेका सांसदले संसदमा आवाज उठाएर पहलकदमी गरे पनि केही हुन्छ की भन्ने आशा पलाउने बताए । ‘विमानस्थल ठप्प हुँदा पनि कसैको चिन्ता नदेखिनु दुःखद् हो’, उनले भने, ‘निर्वाचनमा सबै नेताले ठूल्ठुला गफ गरे, अहिले विर्सिए ।’ निर्वाचनमा विमानस्थललाई मुख्य एजेण्डा बनाएका नेताहरुले चुइक्क समेत नबोल्दा रुपन्देहीबासी नै चिन्तित छन् ।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परिकल्पना आफूले गरेको, योजना ल्याउन पहल, बजेट छुट्याउन भूमिका खेलेको र निर्माण सम्पन्न गर्न योगदान दिएको भन्दै एमाले नेता पौडेल, राप्रपा बरिष्ठ नेता बोहरा, एमाले सचिव छविलाल विश्वकर्मा, लोसपा नेता शर्वेन्द्रनाथ शुक्लाले खुबै प्रचार–प्रचार गरेका थिए । मतदाता प्रभावित पार्न प्रचार गरेअनुसार उनीहरुले निर्वाचन पनि जिते । तर पहल भने गरेनन् ।
चुनावमा नेताहरुले विमानस्थललाई केन्द्रमा राखेर प्रचार मात्रै गरेका थिएनन्, जिते पछि विमानस्थललाई फुलफेजमा संचालन गर्ने बाचा समेत गरेका थिए । कतिले विमानस्थल बनाउन योगदान दिएको भन्दै विमानस्थल अगाडि गएर फोटा र भिडियो खिचेर प्रचार–प्रसार गरे । तर, विडम्बना अहिले विनास्थल फुलफेजमा संचालन हुनु त के, हुँदै आएका अन्तर्राष्ट्रिय उडान पनि रोकिएका छन् । यसमा रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदले कुनै पहल गरेको देखिँदैन । संसदमा आवाज समेत नउठाएका नेताहरुले निर्वाचनमा जनतालाई छलछाम गर्न विमनस्थललाई केन्द्रमा राखेर प्रचार–प्रसार गरेको भैरहवाका स्थानीयको आरोप छ ।
प्रतिकृया दिनुहोस्