भैरहवा आँखा अस्पतालको ठेक्का विवादमा, अस्पताल र निर्माण व्यवसायीबीच आरोप–प्रत्यारोप


भैरहवा– रुपन्देहीको भैरहवामा नेपाल नेत्रज्योति संघद्वारा संचालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको शल्यक्रिया कक्षको भवन निर्माणको ठेक्का प्रक्रिया विवादमा परेको छ । टेण्डर हालेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिन लागिएको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको छ । यस विषयमा निर्माण व्यवसायी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा उजुरी लिएर पुगेको छ ।
अस्पताल प्रशासनले भने केही निर्माण कम्पनीले अस्पताललाई विवादमा पार्न खोजेको भन्दै बाहिर आएका कुराहरुमा सत्यता नभएको दावी गरेको छ । बैशाख २१ गते बुटवलमा पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीले गैरसरकारी संस्थाबाट संचालित अस्पतालको ठेक्का प्रक्रियामा ५ करोड बढी रकम अपचलन गर्न मिलेमतो गरिएको दावी गरेका छन् । १७ वटा बोलपत्र परेकामा अस्पतालले १४ वटा कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरेको थियो । ३ वटाको मात्रै बोलपत्र स्वीकृत गरेर त्यसमध्ये नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि, काठमाडौंलाई आसय पत्र दिइएको थियो ।
निर्माण व्यवसायी संघकी अध्यक्षा मञ्जु भुसाल भन्छिन्, ‘आफू अनुकुलका कम्पनीलाई ठेक्का दिन विना आधार र कारण १४ वटा कम्पनीका प्राविधिक प्रस्ताव अस्वीकृत गरिएको छ र ३ वटाको स्वीकृत भएको छ । त्यसमध्ये निकट मानिएको नव सिर्जनशीललाई आसय पत्र दिइयो । यसमा ५ करोड रुपैयाँको चलखेल छ ।’ अस्पतालले १४ वटाको प्रस्ताव अस्वीकृत गर्दा कविन्द्र निर्माण सेवा प्रालि, कीर्तिपुर, एमपीए कन्स्ट्रक्सन एण्ड विल्टर्स प्रालि, काठमाडौं र नव सिर्जनशीलको स्वीकृत गरेको थियो । यी तीन कम्पनीका संचालक एकअर्का नातेदार रहेको र मिलेमतो गरेको आरोप लगाइएको छ ।
निर्माण व्यवसायीका अनुसार ठेक्काका लागि एनबी कन्स्ट्रक्सन प्रालिले १७ करोड, बाबुल कन्स्ट्रक्सन प्रालिले १७ करोड ५० लाख रकममा भवन निर्माण गर्न प्रस्ताव हालेका थिए । तर, अस्पताल प्रशासनले भ्याटसहित २२ करोड १० लाख रुपैयाँको प्रस्ताव हालेको नव सिर्जनशीलको बोलपत्र स्वीकृत गरि आसय पत्र दिएको व्यवसायी आरोप लगाउँछन् । ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव हाल्नेको बोलपत्र स्वीकृत हुनुपर्नेमा बढी हाल्नेको स्वीकृत भएको भन्दै व्यवसायीले विरोध गरेका हुन् र उनीहरुले अख्तियारलाई गुहारेका छन् । व्यवसायीले तत्काल ठेक्का प्रक्रिया रद्द गरी सबै प्रस्तावहरु स्वीकृत गरी नियमसंगत ढंगले अघि बढ्न समेत माग गरेका छन् ।
यता अस्पताल प्रशासनले भने बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी व्यवसायीको आरोपको खण्डन गरेको छ । प्राविधिकरुपमै प्रस्ताव स्वीकृत गर्न योग्य नठानिए पछि कतिको डेण्डर परेको छ भनेर आर्थिक पाटो नै नहेरिएको र योग्यमध्येबाट नव सिर्जनशीललाई छनोट गरिएको दावी अस्पतालको छ । ‘केही कम्पनीको अनुभव कागजात थिएन, कतिको बैंक भौचर र कतिको कम्पनी अद्यावधिक समेत थिएन, त्यसैले १४ वटा निर्माण कम्पनीका प्रस्ताव अस्वीकृत भएका हुन्’, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले भने ।
२ करोड भन्दा माथिका ठेक्का प्रस्तावमा अनलाइन विडिङ गरी प्रस्ताव लिनुपर्नेमा त्यसो नगरी हार्डकपी नै माग्नुले आर्थिक चलखेल भएको प्रमाणित हुने व्यवसायीको आरोप छ । तर, अस्पतालका व्यवस्थापक रायमाझीले भने गैरसरकारी संस्था भएको र नेत्रज्योति संघको विधान अनुसार चल्ने भएकाले सोही अनुसार गरिएको दावी गरे । परामर्श दाता कर्मा कन्सल्टेन्ट, काठमाडौंका इन्जिनियर दीनेश बश्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको दावी गरे ।
‘हामीले शिलबन्दीमा जति कागजात छन्, प्राविधिकरुपमा तयसैलाई मान्यता दिने हो’, उनले भने, ‘कागजात पुगेका कम्पनीको सोहीअनुसार छनोट गरेका छौं ।’ उनका अनुसार कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकाले कसले कति रकमको प्रस्तावसहित ठेक्का हालेका थिए भन्नेबारे जानकारी नभएको दावी गरे । अस्पतालले गत चैत्र १६ मा बोलपत्र आह्वान गरेको थियो । त्यसपछि १७ वटा कम्पनीले प्रस्ताव पेस भएका थिए । तर, प्राविधिकरुपमा योग्य नभएको १४ वटाको अस्वीकृत गरी ३ वटालाई छनोट गरेर जेठ ४ गते बोलपत्रको प्राविधिक प्रस्तावको आशय स्वीकृतिका लागि सूचना निकालिएको थियो ।
‘यो बीचमा अस्वीकृत कम्पनीहरुमध्ये दुईवटाको गुनासाहरु आएका थिए, हामीले तत्काल प्रस्ताव अस्वीकृत हुनुको कारण पठाएका थियौं’, व्यवस्थापक रायमाझीले भने, ‘त्यसपछि कुनै पनि कम्पनी उपस्थित हुनुभएन । अनि हामीले प्राविधिक प्रस्ताव स्वीकृत कम्पनीको आर्थिक प्रस्ताव खोलेका हौं ।’ जेठ ११ गते प्राविधिक प्रस्ताव स्वीकृत ३ वटा कम्पनीको आर्थिक प्रस्ताव खोलेर सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको जेठ १८ गते सूचना प्रकाशन गरिएको रायमाझीले जनाए । ‘अहिले बाहिर आएका हल्लाहरु अरु केही नभएर संस्थालाई दुःख र हैरानी दिने मनसायले मात्रै आएका हुन्, यसमा संस्था गम्भीर छ । यस्ता भ्रामक अभिव्यक्तिको खण्डन गर्छौं ।’ उनले अख्तियारमा उजुरी परेकाबारे अस्पताल प्रशासनलाई केही जानकारी नआएको बताए ।









लेखकको सम्वन्धमा