अब भैरहवा–बुटवल र आसपासका क्षेत्रमा इ–ड्राइभ सेवा


भैरहवा– इ–ड्राइभ लुम्बिनी नेपाल र इ–ड्राइभ नेपालको सहकार्यमा लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन हुने भएको छ । यस अन्तर्गत कुनै पनि यात्रुले इ–ड्राइभ नेपालको एप मार्फत् अनलाइनबाट आफूलाई आवश्यक सवारी साधनको बुक गरि गन्तब्यमा पुग्न सक्नेछन् । यो सुबिधा हाल काठमाडौं उपत्याकामा छ । भने, इ–ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
इ–ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले बिहीवार रुपन्देहीको मंगलापुरमा पत्रकार सम्मेलन मार्फत् बैशाखको पहिलो सातादेखि लुम्बिनी प्रदेश अन्तर्गत भैरहवा–बुटवल लगायत वरिपरिका क्षेत्रमा सेवा संचालन गरिने जनाएका छन् । इ–ड्राइभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले प्रालिले पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर संचालनमा ल्याउने र निकट भबिष्यमैं बिद्युतीय टेम्पो संचालन गर्ने योजना रहेको बताए ।
‘लुम्बिनी प्रदेशको आवश्यकतालाई महशुस गरि यसको सुरुवात भैरहवा, बुटवल र आसपासको क्षेत्रबाट गर्न लागेका छौं’, गुप्ताले भने, ‘स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको नयाँ–नयाँ अवसर गराउने र इलेक्ट्रिक सेवाको उच्चतम प्रयोग गर्दै इन्धनका लागि बिदेशिने ठूलो धनराशी जोगाउनु पनि हो ।’ बातावरणको संरक्षण अभियानमा पनि इ–ड्राइभ नेपाल रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, अनलाइनबाट आफ्ना सवारी साधन संचालनका लागि इ–ड्राइभ नेपालले दर्ता निर्धारित मापदण्ड पुरा गरी दर्ता प्रक्रिया सुरु गरिसकिएको छ । दर्ता भएका सवारी साधनवालालाई आवश्यक प्रशिक्षण पनि दिन थालिएको छ । इ–ड्राइभ नेपालमा दर्ता भएका कुनै पनि सवारी साधनले यात्रुलाई पुर्याउँदा अनलाइन अन गरेर मात्रै संचालन गर्ने छन् । अनलाइन अफ गरेर र तिब्र गतीमा संचालन गर्न पाइने छैन ।
इ–ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन काहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन सकिने र खोज्न सकिने भएकाले यात्रु पूर्ण रुपमा सुरक्षित रहने बताए । उनको भनाइमा, यात्रुले प्रयोग गरेको सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनँसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने छ ।
‘इ–ड्राइभमा अनलाइन बुक गर्ने र भाडा दर नेपाल सरकारले निर्धारण गरे अनुसार नै हुने छ’, मास्केले भने, ‘निकट भविष्यमा प्रत्येक घण्टाको हिसावले पनि बुक गर्न मिल्ने व्यवस्था गरिने छ ।’ इ–ड्राइभ नेपालको यो सेवा सेवाग्राहीको घर आगनसम्मै उपलब्ध रहने । इ–ड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा चालक र सेवाग्राही दुवैको तोकिएको बीमाको व्यवस्था रहेको पनि उनले बताए ।
प्रतिकृया दिनुहोस्