May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

नयाँ वर्षको स्वागतमा भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’

भैरहवा– आर्थिक क्षेत्रलाई चलायमान बनाउने र भैरहवा–लुम्बिनी लगायत लुम्बिनी प्रदेशमा पर्यटकको आगमन बढाउने उद्देश्यसहित भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा बिभिन्न संघसंस्थाहरुको समन्वयमा नयाँ वर्ष–२०८१ को स्वागतार्थ भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ हुन लागेको हो ।

Advertisement

चैत्र ३० गते साँझ ६ बजेबाट खाना महोत्सव हुनेछ । खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संगठनका अध्यक्ष रामप्रसाद पोख्रेलले जानकारी दिए । भैरहवाको आँखा अस्पताल रोडमा हुन लागेको सडक खाना महोत्सवमा बिभिन्न प्रकारका खानाका परिकारहरुसंगै सांगितिक कार्यक्रम पनि हुने अध्यक्ष पोख्रेलले बताए ।

Advertisement

आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले सडक खाना महोत्सव आयोजना गरिएको होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ का संयोजक पिताम्बर न्यौपानेले बताए । ‘सडक खाना महोत्सवमा बिभिन्न स्थानीय खानाको परिकारसँगै तारे होटलसम्मका स्वादहरु सडकमै लिन सकिने ब्यावस्था मिलाएको छौं’, न्यौपानेले भने । महोत्सवमा थरिथरिका ६० बढी स्टलहरु रहनेछन् ।

यस अगाडिका बर्षहरुमा बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तर्गत देवकोटाचोकदेखि बसपार्क क्षेत्रसम्म सडक खाना महोत्सव आयोजना हुँदै आए पनि यसपटक सिद्धार्थ क्रिकेट रंगशालासँगै जोडिएको सडकमा महोत्सव आयोजना हुने संयोजक न्यौपानेले बताए । कार्यक्रमलाई प्रभावकारी बनाउन र ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउन यस पटक स्थान परिवर्तन गरिएको उनले बताए ।

विषम परिस्थितिका बाबजुद पनि महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबैको साथ आवश्यक रहेको संगठनका पूर्वअध्यक्ष गणेश बेल्बासेले बताए । यस पटक महोत्सवमा भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै सिमानाकामा सहजताका लागि आवश्यक पहल गर्ने आयोजकले जनाएको छ । ‘महोत्सवमा कसरी बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ भन्नेतर्फ हामी लागेका छौं’, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव बालबहादुर घिमिरेले भने ।

चैत्र ३० गते सांझ ६ बजे बाट सुरु हुने सडक खाना महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, डिजे लगायत रहेको महोत्सवका सहआयोजक मदिरा ब्यावसायी संघका अध्यक्ष केशव ज्ञवालीले बताए । बिगतका बर्षहरुको अनुभवका आधारमा १० हजार बढीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

खाना महोत्सवमा २०८० सिद्धार्थनगर नगरपालि र मदिरा व्यवसायी संघ, भैरहवा रुपन्देही सहआयोजक छन् । त्यसैगरी प्रायोजकमा गोर्खा ब्रुरुअरी इण्डस्ट्रिज प्रालि, सह–प्रायोजकमा जावला खेल इन्डस्ट्रिज प्रालि, प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड, काठमाडौँ, पर्यटन डिभिजन कार्यालय, भैरहवा, रुपन्देही छन् ।

त्यसैगरी संरक्षक संस्थाहरुमा उद्योग व्यापार संगठन रुपन्देही, होटल व्यवसायी महासंघ, नेपाल, होटल व्यवसायी महासंघ, लुम्बिनी प्रदेश, सल्लाहकार संस्थाहरुमा सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा रुपन्देही, सिद्धार्थ संजाल, रुपन्देही छन् । त्यसैगरी सहयोगी संस्थाहरुमा नाट्टा लुम्बिनी प्रदेश, सिद्धार्थ होटेल एसोशिएशन (सान), लुम्बिनी होटल संघ, रुपन्देही, लुम्बिनी प्रेस क्लब, भैरहवा, सोट्टो नेपाल रुपन्देही, लुम्बिनी मनि चेन्जर संघ रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, रुपन्देही, सिद्धार्थ यातायात प्रालि, रुपन्देही, आस्था महिला उद्यमी संघ, भैरहवा, डिपि स्टुडियो र युनिक साउण्ड सिस्टम छन् ।