January 25, 2025, Saturday
२०८१ माघ १३

अब पाँच महिनामा सकिएला बुटवल–नारायणगढ सडकको बाँकी ५५ प्रतिशत काम ?

भैरहवा– पटकपटक म्याद थप्ता पनि सडक निर्माण नसकिएको र यसले आमनागरिकलाई सास्ती भएको भन्दै तीन हप्ता अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको टिमले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको १ सय १४ किलोमिटर पैदल यात्रा गर्यो । यसले ठेकेदार र सरकारलाई दवाव सिर्जना गर्यो छ । त्यसपछि कामले केही गति लिएको बताइन्छ । तर, गत साउनमा थपिएको म्याद सकिने समय नजिँदै गर्दा सडक निर्माण भने नसकिने निश्चित छ ।

सडक निर्माणमा भइरहेको ढिलाइबारे सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । कामले भने अझै मूर्तरुप लिएको छैन । यो खण्डको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । अन्तिमपटक थपिएको समयवाधि सकिन अब मात्रै ५ महिना बाँकी छ । प्रगति भने आधा पनि भएको छैन । ‘वर्षाभरी हिलो भयो, दिउँद लागेयता धुलोले हिंडडुल गरिसक्ने अवस्था छैन । म्याद थपेको थप्यै तर काम भने तीव्र गतिविमा हुन सकेको छैन’, कावासोतीका स्थानीय सुन्दर कुँवर भन्छन्, ‘सरकारले ठेकेदारलाई की कारबाही गर्नुपर्यो होइन भने काम छिटो सक्न पर्यो ।’

Advertisement

सडक छेउछाउका नागरिकले पछिल्ला वर्षका निकै सास्ती खेपेका छन् । सडक निर्माणको काममो अहिलेसम्म ४५ प्रतिशत मात्रै प्रगती भएको छ । यही तरिकाले काम गरे अझै ४ वर्ष लाग्ने स्थानीय बताउँछन् । सडक छेउमा ब्यापार गरिरहेका कयौं धुलो र हिलोले गर्दा व्यापार नै बन्द गरेर विस्थापित भएका छन् । कयौंको ब्यापार नचलेर हैरानी छ । बिहान सफा गरेको घर बेलुवा चिन्नै मुस्किल पर्ने स्थिति छ । धुलोका कारण सर्वसाधरण रुघाखोकीले ग्रसित हुँदै आएका छन् । ठेकेदारको ढिलासुस्ती भने निरन्तर कायम नै छ ।

दुई खण्डमा विभाजन गरेर निर्माण सुरु गरिएको यो सडकमा बर्दघाट–बुटवल सडक खण्डको पश्चिममा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वमा ४६ प्रतिशत मात्र काम भएको छ । जम्माजम्मी ४५ प्रतिशत काम भएको छ । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै समयमा पूरा गर्न नसकेपछि सरकारले आगामी साउन ६ गते सम्मका लागि म्याद थप गरेको थियो । थपिएको म्याद सकिन अब ५ महिना मात्रै बाँकी छ । यो अवधिमा पनि काम नसकिने प्रष्ट छ ।

दाउन्नेपूर्व खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले पछिल्लोपटक कामले केही गति लिएको जनाए । ‘म्याद सकिने समयसम्म यो खण्डको काम ७० प्रतिशत पुग्छकी भन्ने छ’, उनले भने, ‘हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौं ।’ दाउन्नेपूर्व ४८ किलोमिटर र पश्चिमखण्ड ६५ किलोमिटर पर्छ ।

पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले तोकिएको समयमा सडक निर्माण सकिने सम्भावना नभएको बताए । ‘पश्चिम खण्डका अहिले मासिक सरदर एक प्रतिशत काम भएकोले आगामी ५ महिनाभित्र ५० प्रतिशत पुर्याउने आङ्कलन हाम्रो छ’, उनले भने ।

संघीय सरकारले एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक स्तरोन्नतिको काम अघि बढाएको हो । तर, निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्तीले काममा निरन्तर विलम्ब भइरहेको छ । तीन वर्षमा सक्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले वि.सं. २०७५ देखि काम सुरु गरेको थियो । यो सडक निर्माण सम्पन्न भए बुटवल–नारायणगढ यात्रा डेढ घण्टामै हुने बताइन्छ । अहिले ६ देखि ८ घण्टा लाग्ने गरेको छ । सडक बस्तीमा छ लेन र जङ्गलमा चार लेनको बनाएर निर्माण भइरहेको छ ।