May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

भोलिदेखि देवदह महोत्सव, एक सय पचास बढी स्टल दर्ता

देवद– आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । देवदह उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा माघ २५ गतेदेखि फागुन ८ गतेसम्म महोत्सव संचालन हुँदै छ । यस क्षेत्रमा आर्थिक थतिविधि चलायमान बनाउन टेवा पुर्याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन् ।

Advertisement

महोत्सवमा प्रवेशद्वारा, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माण कार्य लगभग सकिएको मेला आयोजक मूल समितिका संयोजक तथा बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिए । ‘अहिलेको मेलालाई विशेष बनाउने अभियान अन्तर्गत महोत्सवका लागि आवश्यक तयारीहरु पुरा भएको छ र अन्तिम चरणका काम भइरहेका छन्’, उनले भने । मेलामा गुरुङ, मगर समुदायको कुडुले घर, सेल्फी स्टेन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षकहरु स्थल राखिने जानकारी दिए ।

Advertisement

मेलाका लागि अहिलेसम्म १ सय ५० वटा स्टल दर्ता भइसकेको र होटल, कृषि, विद्यालयका विज्ञान प्रदर्शनी स्टथ लगायतका अन्य गरि दुई सय स्टलहरु रहने उनले जनाए । उनले मेला एक लाख दर्शकले अवलोकन गर्नेे र दश करोड बरावरको कारोवार हुने लक्ष्य रहेको बताए । मेला सम्पन्न गर्दासम्म १० लाखबढी खर्च लाग्ने अनुमान गरिएको छ । बिहीबारदेखि लाग्ने मेलाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु कार्यक्रम तय भएको छ ।

यस्तै मेलाको सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्सिङ्ग आइडल, अन्तर विद्यालय लोकगीत तथा लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समूह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने छन् । देवदह मण्डपमा फागुन ८ गतेसम्म चल्ने महोत्सवमा कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला सचिवालय संयोजक विष्णु न्यौपालेले बताए ।

यसपटकको मेलामा अहिले सम्मकै बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहने पनि आयोजकले बताएका छन् । मेलामा गायक राजु परियार, आशिष राना लाहुरे, ज्योति मगर, प्रकाश दुतराज, एलिना चौहान, टंक तिमिल्सिना, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, बद्री पंगेनी, इन्द्रेणी समूह, दुर्गेश थापा, शान्ति श्री परियार, शिला आले, रमेश प्रसाईं, रमेशराज भट्टराई, पुस्कल शर्मा, पुर्गेङ्ग दोङ, नृत्य बन्दना विश्वकर्मा, आरुसी मगर, नारायणी खत्री लगायतका राष्ट्रियसँगै दर्जनौ स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । मेलाको पूर्व सन्ध्यामा माघ २५ गते विहीबार बिहान साढे दश बजे देवदह लौकेश्वर मन्दिरबाट मेला स्थलसम्म विभिन्न भेषभुषा झाँकी सहितको र्याली निकालिने र उक्त र्याली देवदह मण्डपमा पुगेर समापन हुने मेला सहसंयोजक मिना श्रेष्ठले बताइन् ।