बुटवलमा एक पिकअप अवैध माछा बरामद, छुटाउन तस्करको चलखेल


भैरहवा– ठूलो मात्रामा अवैध माछासहित प्रहरीले रुपन्देहीबाट बलेरो पिकअप गाडी र दुईजना मानिसलाई नियन्त्रणमा लिएको छ । गएराति बुटवल उपमहानगरपालिकास्थित सिद्धार्थ क्याम्पस छेउ हाटबजार लाइनबाट लु २ च ३३२९ नम्बरको पिकअप गाडी, चालक र गाडीमा रहेका माछा तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रुपन्देहीमा यति ठूलो मात्रामा एकैपटक माछा बरामद भएको यो पहिलो घटना हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार बलेरो गाडीमा २ हजार किलो (२० क्विन्टल) बढी माछा ल्याइएको थियो । प्रदेश प्रहरी कार्यालय, दाङ र इलाका प्रहरीको संयुक्त टोलीले अवैध माछा बुटवल ल्याइएको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो । डीएसपी पण्डितका अनुसार माछा र गाडीसहित तस्कर सझार पछिया र चालक शिवकुमार यादवलाई पनि नियन्त्रणमा लिइएको छ । तस्कर पछिया ‘विश्व’ उपनामले परिचित चर्चित तस्कर हुन् । उनी भारतीय नागरिक हुन् ।
‘चालक, ब्यापारी, माछासहितको गाडी हामीले इप्रकामा राखेका छौं’, डीएसपी पण्डितले भने, ‘हाम्रो अनुमान दुई हजार किलो बढी माछा छ भन्ने हो । तर खोलेर हेरेका छैनौं । यसबारे बुझिरहेका छौं ।’ उनका अनुसार गाडीका मरेका माछा छन् । आइस बक्समा राखेर गाडीमा लोड गरी माछा ल्याइएको छ ।
चालक र तस्करले कपिलवस्तुबाट माछा ल्याएको भनेर बिल देखाइरहेको डीएसपी पण्डितले जनाए । यसबारे अनुसन्धान भइरहेको उनले बताए । स्रोतका अनुसार कपिलवस्तुको विभिन्न नाकाबाट मरेका भारतीय माछा भित्र्याएर बुटवल ल्याइएको थियो । तर, तस्करले नेपालको बिल बनाएर प्रहरीबाट माछा फिर्ता लिने प्रपञ्च गरिरहेका छन् ।
लामो समयदेखि कपिलवस्तुबाट अवैधरुपमा भारतीय माछा तस्करी हुँदै आएको छ । यसबारे लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतसम्म सूचना पुगेपछि उनकै पहलमा माछा बरामद गरिएको हो । अवैध माछा भारतबाट नेपाल ल्याउँदा तस्करहरुले विभिन्न ठाउँमा सेटिङ मिलाएर ल्याउने गर्छन् । तर, मिलेमतो कसैले पक्राउ गर्न सकेका थिएनन् ।

माछा उपादनका लागि रुपन्देही हब मानिन्छ । तर, अवैध बाटोबाट तस्करले मिलेमतोमा माछा भित्र्याउँदा यहाँका किसान मारमा छन् । अर्कातर्फ सस्तोमा मरेका माछा भित्रिँदा किसानले मूल्यसमेत पाउन सकेका छैनन् । प्रहरीमका अनुसार गए राति बरामद माछा साढे पाँच लाख बढी मूल्यको छ । यसअघि इप्रका बुटवलले भारतीय तस्कर विश्वले अवैध रुपमा भित्र्याएका माछा बरामद गर्दा नेपालको बिल देखाएर माछा छुटाएका थिए । यसपटक पनि उनले माछा छोडाउन अनेक चलखेल गरिरहेका छन् । तस्कर विश्वले कपिलवस्तुसहित रुपन्देही र पश्चिम नवपरासीबाट पनि माछा तस्करी गर्दै आएका छन् ।









लेखकको सम्वन्धमा