May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटक बृद्धि

भैरहवा– मुलुकमै रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । कोरोना कालअघि बेलहिया–सुनौली नाका हुँदै नेपाल भ्रमण आउने बिदेशी पर्यटकको संख्या अधिक थियो । तर, महामारीले बीचमा पर्यटक आगमन संख्या खस्किएको थियो । तर, पछिल्लो वर्ष पर्यटक आगमन राम्रो हुँदै गएको सरकारी तथ्यांकले पुष्टि गर्छ ।

Advertisement

अध्यागमन कार्यालय, भैरहवाका अनुसार स्थलमार्ग हुँदै आउने बिदेशी पर्यटकहरुको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण सुरु भए पछि घटेको पर्यटक आगमन सन् २०२३ मा उल्लेखनीय रुपमा बढेको अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सन् २०२३ मा यो नाका हुँदै ६५ हजार २ सय ८० बिदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

Advertisement

अध्यागमन कार्यालय, बेलहिया, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बासुदेव पौडेलले सन् २०१९ पछि स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आएको जनाए । सन् २०२३ मा सबैभन्दा बढी श्रीलंकाका पर्यटक आएका छन् । श्रीलंकनहरु १८ हजार ४ सय ४४ जना नेपाल भ्रमणमा आएका छन् । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने दोश्रो देश थाइल्याण्ड हो । थाइल्याण्डबाट २०२३ मा १६ हजार ५ सय २३ जना आउँदा म्यान्मारका ११ हजार ७ सय ८५ जना पर्यटक आएको पौडेलले जनाए ।

‘हवाई मार्ग मात्र नभई स्थलमार्गबाट समेत पर्यटक आगमन बढ्नुलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ’, उनले भने, ‘विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै छ ।’ अध्यागमनको तथ्यांक अनुसार सन् २०२३ मा भियतनामका ९ हजार ८ सय, दक्षिण कोरियाका ५ हजार १६ जना पर्यटक आएका छन् । बेलहिया नाका हुँदै बिभिन्न १२० देशबाट नेपाल भ्रमणमा आएको अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिए ।

स्थलमार्गबाट आउने भारतीय पर्यटकहरु पनि अत्यधिक छन् । भारतीय पर्यटकहरु ५ लाख भन्दा बढी आएको अनुमान छ । २ लाख ६० हजार भन्दा बढी भारतीय पर्यटक लुम्बिनी भ्रमणमा गएका छन् । स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकहरुको तथ्यांक अध्याबधिक हुने गरेको छैन् । पासपोर्टहोल्डरको मात्रै अध्यागमनले तथ्यांक राख्ने गर्छ ।

यो नाका हुँदै भ्रमणमा आउने बिदेशी पर्यटकहरुको मुख्य गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनी पछिको अन्य गन्तब्यहरुमा पाल्पाका तानसेन, पोखरा, सौराहा, मुस्ताङ, काठमाडौं हो । कतिपय बाँके, बर्दियासम्म पुग्ने गर्छन् । पर्यटन व्यवसायी एवं सोट्टो नेपाल लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताको स्थलमार्ग हुँदै आउने बिदेशी पर्यटक मध्ये बौद्ध मुलुकका पर्यटकहरुको बसाई अबधि मुस्किलले एक दिन हुँदा भैरहवा र लुम्बिनीका पर्यटन व्यवसाय फस्टाउन नसकेको जनाए ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ पनि अब पर्यटकको बसाइँ अपधि लम्ब्याने खालका गतिविधिमा जोड दिनुपर्ने बताउँछन् । ‘भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण रुपमा नचल्दा हामी पर्यटन व्यवसायी थप मर्कामा छौं, सरकारले छिटो भन्दा छिटो बिमानस्थल चलाओस् । विमानस्थल चलेका गुणस्तरीय र लामो समय नेपालमै बस्ने गरी पर्यटक आउँछन् ।’