May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

लुम्बिनी केबलकारले भित्रायो सात महिनामा डेढलाख पर्यटक

बुटवल– लुम्बिनी प्रदेशकै पहिलो लुम्बिनी केबलकारमा सात महिनामा करिब डेढ लाख पर्यटकले यात्रा गरेका छन् । बुटवलको गोलपार्कस्थित बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको थियो ।

Advertisement

सात महिनामा एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेका कम्पनीले जनाएको छ । बसन्तपुर पुग्नेले माँ कामाख्यादेवीको पुजाअर्चना गर्ने गर्छन् । कम्पनीका अनुसार जेठ १५ देखि पुस १४ गतेसम्मको तथ्यांक अनुसार एक लाख ४० हजार ५ सय एकजना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार १ सय १८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेका छन् ।

Advertisement

कम्पनीका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले कुल पर्यटकमध्ये ३९ हजार २ सय ८ जना टिकट दरमा दिइएको सहुलियत अफरमा आएका छन् । सात महिना मध्ये सबैभन्दा धेरै ३५ हजार ७ सय ९७ जना पर्यटक कार्तिकमा भित्रिएका छन् भने असोजमा सबैभन्दा कम ९ हजार ६ सय ५० जनाले केबलकार चढेका छन् । कम्पनीले प्र्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ ।

सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६ सय १२ रुपैयांको टिकट विक्रि गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर वापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयांका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ बुझाइसकेको अपरेसन म्यानेजर सैंजूले जानकारी दिए । दुईतर्फी यात्राको एक हजार रुपैयां टिकट दर तय गरिएको भए पनि शुरुदेखि नै ७ सय ५० रुपैयां कायम छ । एक हजार टिकट दरमा बुटवलको वडा नंं ३ र तिनाउ गाउपालिकाको वडा नं ३ का बासिन्दा, अपांगता सहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाई भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी, ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कमका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको सैजूले बताए ।

पर्यटकको मागलाई मध्यनजर गर्दै कम्पनीले बेला बेलामा टिकट दरमा आकर्षक छुट सहित विभिन्न अफर पनि सञ्चालन गर्ने गरेको उनले बताए । अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

‘सञ्चालनमा आएको छोटो समयमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’, अपरेसन म्यानेजर सैंजूले भने, ‘टप स्टेशनमा पर्यटकलाई दिनभर भुल्ने र राति पनि बास बस्न सक्ने गरी थप पुर्वाधारहरु बनाउंदै छौं ।’ पर्यटक आगमन उत्साहजनक भएपनि सञ्चालन खर्च धान्न मुस्किल भएकाले भारतको उत्तर प्रदेश लगायतका प्रान्तबाट अलि ठूलो संख्यामा पर्यटक भित्राउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पुर्वाधारको बजारिकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए ।

बसन्तपुरमा निर्मित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजा हुंदै आएको दुर्गा माता मन्दिर सहित संरचनाहरु हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेको मन्दिरका पुरोहित सुरेश शर्माले बताए । केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । यस्तै दुई वर्षभित्र एक सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पांचतारे होटेल बनाउने योजना छ ।

करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पांच तारे होटेल सञ्चालनमा आउंदा थप ५ सय बढीलाई रोजगारी दिनसक्ने छ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डेयले बताए ।

समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुंदा शीतल हुने हिउंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलो बनेको पाण्डेयले बताए । डेढ दशकअघि प्रकृया अघि बढे पनि लगानी अभाव लगायत विभिन्न कारणले काम अघि बढ्न नसकेको कूल ५ अर्ब लागतको आयोजना आईएमई ग्रुपले नेतृत्व लिएपछि १४ महिनामै निर्माण सम्पन्न भएको थियो ।