April 23, 2025, Wednesday
२०८२ बैशाख १०

भारतीय पर्यटकका लागि २५ हजार भारुको सीमा हटाउन माग

भैरहवा– लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक मुलुक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले साथमा २५ हजार भारतीय रुपैयाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् । अर्कोतर्फ रकम अभावमा मुलुकका धेरैजसो गन्तव्य घुम्न नपाउने भारतीय पर्यटकको गुनासो छ । यहाँका पर्यटन व्यवसायीले खर्च सकिएर भारतीय पर्यटक अलपत्र पर्ने गरेको बताए ।

पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले सरकारी अव्यवहारिक नियमले भारतीय पर्यटकलाई हैरानी भइरहेको जनाए । ‘घुम्न आए पर्यटकले मनलाग्दी खर्च गर्न पाउने प्रावधान समेत छैन, कसरी पर्यटन क्षेत्रबाट मुलुकको समृद्धि सम्भव होला ?’, उनले प्रश्न गर्दै भने, ‘कम्तिमा एक लाख भारुसम्म बोकेर आउन पाउने व्यवस्था बनाउनुपर्छ ।’ उनले यसबारे पटकपटक मन्त्रीदेखि प्रधानमन्त्रीसम्म जानकारी गराए पनि २५ हजार भारुको सीमा नहट्नु दुःखद् भएको जनाए ।

Advertisement

बाँकेको नेपालगन्जका पर्यटन व्यवसायी श्रीराम सिग्देल पुरानै नियमले भारतीय पर्यटक पीडित बनेको सुनाउँछन् । उनका अनुसार पहिले २५ हजार भारुले घुमफिर गर्न पुग्थ्यो । अहिले त्यति रकमले एकदिन पनि नधान्ने उनले बताए । पर्याप्त रकम बोकेर आउन नपाउँदा भारतीय पर्यटकले मनग्गे खर्च गर्न नपाइरहेको उनले बताए । मुलुकका अधिकांश गन्तव्यमा अहिले भारतीय पर्यटक पुगिरहेका छन् । सिमावर्ती सहरका होटल, रेष्टुरेन्ट, स्पा र क्यासिनो भारतीय पर्यटककै भरमा छन् ।

‘पर्यटन क्षेत्रका लागि अहिले भारतीय पर्यटक भरोसा हुन्,’ उनले भने, ‘त्यसैले उनीहरुले साथमा ल्याउन पाउने रकमको दायरा बढाउनुपर्छ ।’ रुपन्देहीको भैरहवाका पर्यटन व्यवसायी सन्जय बजिमयले भारतीय पर्यटकले मुलुक आउँदा २५ हजार भारतीय रुपैयाँ (भारु) मात्र नगद बोकेर आउन पाउने नियमले कठिनाई भइरहेको बताए । उनका अनुसार यहाँका सिमावर्ती सहरमा भारतीयलाई लक्षित गरेर धमाधम क्यासिनो सञ्चालन भइरहेका छन् । त्यस बाहेक पोखरा, चितवन, काठमाडौं र मुक्तिनाथसम्म भारतीय पुगिरहेका छन् । तर, उनीहरुले बोकेर ल्याउने नगद रकमको दायरा साँघुरो भएकाले समस्यामा पर्ने गरेको बजिमयले बताए ।

‘उनीहरु (भारतीय पर्यटक) रमाउन यहाँ आउने गर्छन्,’ उनले भने, ‘तर, सिमित नगद बोकेर आउनुपर्दा मर्कामा परिरहेका छन् ।’ यहाँ पाँच सय र एक हजार भारु नोट नचल्ने भएकाले झन समस्या भइरहेको उनको भनाई छ । ‘खुद्रा नोटका धेरै झोला बोकेर ल्याउन पनि समस्या हुन्छ,’ उनले भने, ‘थोरै रकम बोकेर आउने भारतीय फर्किदा बेखर्ची भएको देखिन्छ ।’

आन्तरिक र भारतीयलाई पर्यटकको सूचीमा नराखेका कारण धेरै झण्झट बेहोर्नु परिरहेको उनले भनाई छ । ‘अन्तर्राष्ट्रिय पर्यटक आउने सीमा नाका अव्यवस्थित र असुक्षित छन्,’ उनले भने, ‘सम्पूर्ण नीति, कार्यक्रम र योजना त्रिभुवन विमानस्थल लक्षित छन्, स्थल नाका अलपत्र छन् ।’ नेपालबाट चीन र भारतमा असिमित मुद्रा पठाउन मिल्ने भए पनि उताबाट यहाँका लागि सिमित मुद्रामात्र बोकेर ल्याउन र पठाउन मिल्ने बनाइएकाले दुःख पाइरहेको उनले बताए ।

मुलुकका प्रमुख गन्तव्य जोड्ने राजमार्ग भद्रगोल रहेको अवस्थामा ठाउँ ठाउँमा भारतीय पर्यटकलाई रोकेर चेकिङका नाममा दुःख दिने गरिएकाले पर्यटन क्षेत्रबाट सकारात्मक संदेश जान नसकेको उनले बताए । ‘यस्तो भद्रगोल अवस्थामा पनि भारतीय आइरहेका छन्,’ उनले भने, ‘उनीहरुलाई कसरी खुसी तुल्याएर पठाउने भन्ने हाम्रो चिन्तन हुनुपर्छ ।’