April 22, 2025, Tuesday
२०८२ बैशाख ९

रूपन्देही प्रहरीद्वारा अबैध कुखुराका चल्ला र प्याज बरामद

भैरहवा– रुपन्देही प्रहरीले अवैध रुपमा भारतबाट भित्र्याइएका कुखुराका चल्ला र प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नं. ७, लखनौतियाबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो ।

३५ कार्टुन (२ हजार १ सय वटा) कुखुराका चल्ला बरामद गरिएको हो । भारतबाट अवैधरुपमा भित्र्याइएका उक्त चल्लाको मूल्य एक लाख ६८ हजार बराबरको रहेको प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । बरामद कुखुराको चल्ला आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहिया बुझाइएको छ ।
यस्तै जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १० स्थित भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्याज बरामद गरेको छ । २८ बोरा (१ हजार ७ सय के.जी.) करिब ८५ हजार मूल्य बराबरको प्याज बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको डीएसपी भट्टले जनाए ।