दोस्रो रामग्राम महोत्सव सुरु


परासी– पश्चिम नवलपरासीको रामग्राममा महोत्सव सुरु भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको यहाँ दोस्रो रामग्राम महोत्सव सुरु भएको हो । यूथ बुद्धिष्ट सोसाइटी अफ इन्डिया (वाईबीसी) ले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर दोस्रो रामग्राम महोत्सवको आयोजना गरेको हो । महोत्सवको संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले उद्घाटन गरेका छन् ।
उनले बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन् नभई अस्तु सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम भएको भन्दै यो संसारभरका बौद्धमार्गीहरुको साझा सम्पत्ति रहेको बताए । उनले बुद्धको एक मात्र अस्तु रहेको रामग्राममा आयोजना गरिएको महोत्सवले यसको महत्व झल्काएको जनाए । उनले बुद्धको शिक्षा अभ्यासमा आधारित रहेकाले मानव र सिंगो प्राणीको हितमा रहेको बताए ।
कार्यक्रममा यूथ बुद्धिष्ट सोसाइटीका राष्ट्रिय अध्यक्ष सुरेशचन्द्र बौद्ध, महासचिव भिक्षु डा. उपानन्द, कोरियन भिक्षु सुनिमले रामग्राम बुद्धको एक मात्र अस्तुधातु रहेको स्थान भएकाले बौद्धमार्गीहरुका लागि निकै महत्वपूर्ण स्थल रहेको बताए ।
करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाणा भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्तुधातुको संज्ञा दिएको भन्ने भनाइ ।
बुद्धको महापरिनिर्वाण पश्चात् बुद्धको अस्तुधातु आठ भाग लगाइएको र त्यस मध्येको एक भाग रामग्राग रहेको हो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य (रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्तु ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेको मान्यता छ ।
प्रतिकृया दिनुहोस्