लुम्बिनीमा १० लाख पर्यटक, अझै छैनन् व्यवसायी उत्साहित


भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन अझै लयमा फर्किन सकेको छैन । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिँदै गए पनि पूर्ववतः अवस्थामा भने अझै फर्किन नसकेको हो । कोरोना अघि सन् २०१९ मा लुम्बिनीमा १५ लाख ५८ हजार ३२६ पर्यटक आएका थिए । सन् २०२३ मा भने ९ लाख ९८ हजार ९३८ ले मात्रै लुम्बिनी भ्रमण गरेका छन् । यो तथ्यांकले लुम्बिनीमा पर्यटकको संख्या पूरानै लयमा नफर्किएको देखाउँछ ।
कोरोना कहरका बेला लुम्बिनी आउने पर्यटक निकै कम थिए । दुई वर्षयता विस्तारै आगमन बढीरहेको छ । यद्यपी लुम्बिनी आउने पर्यटकको संख्याले चार वर्ष अघिको तथ्यांकलाई उछिन्न सकेको छैन । सन् २०२३ को तथ्यांकलाई हेर्ने हो भने लुम्बिनीमा भारतीय पर्यटक आगमन राम्रो देखिन्छ । तर, आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन भने कमजोर छ ।
‘अहिले पर्यटक आगमन राम्रो छ । तर, पूरानै लयमा फर्किएको छैन’, लुम्बिनी विकास कोषका सूचना अधिकृत राज बस्नेतले भने, ‘पूरानै लयमा फर्काउन सबै क्षेत्र लाग्नुपर्छ ।’ उनले खासगरी मुलुकमा देखिएको आर्थिक मन्दी, भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई भारतीय टूरगाइडले लुम्बिनीलाई प्राथकितामा नराख्नु, सीमा क्षेत्रमा झन्झटिलो व्यवस्थाले समेत लुम्बिनी आउने पर्यटकमा प्रभाव पारिरहेको जनाए ।
कोरोना अघि अघिका वर्षहरुमा लुम्बिनी घुम्न आउने आन्तरिक पर्यटक मात्रै १० लाख भन्दा बढी थिए । लुम्बिनी विसका कोषेको तथ्यांक अनुसार सन् २०१९ मा मात्र ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटक लुम्बिनी घुम्न आएका थिए । तर, २०२३ मा आउँदा यो संख्यामा ४५ प्रतिशतले गिरावट आएको छ । अहिले ६ लाख ५६ हजार २१८ ले मात्र लुम्बिनी घुमफिर गरेका छन् ।
तथ्यांकअनुसार तेस्रो मुलुकका पर्यटकको आगमन सन् २०१९ को तुलनामा ५६ प्रतिशतले कमी छ । सन् २०१९ मा तेस्रो मुलुकबाट १ लाख ७४ हजार १५ पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । सन् २०२३ मा भने ७६ हजार २१० मा सीमित भएका छन् । तथ्यांक हेर्दा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकको संख्या डेढ दशक अघिको अवस्थामा पुगेको छ ।
आन्तरिक र तेस्रो मुलुकको पर्यटन आगमन अझै लयमा नफर्किंदा लुम्बिनीमा भारतीय पर्यटन आगमनले भने नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२३ मा मात्र २ लाख ६६ हजार ५१० भारती लुम्बिनी घुमेका छन् । कोरोना अघि सन् २०१९ मा २ लाख ६ हजार १७१ भारतीय पर्यटक लुम्बिनी आएका थिए । भारतीय पर्यटक आगमनले अघिल्लो वर्ष पनि रेकड कायम गरेको थियो । सन् २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय पर्यटकले लुम्बिनी घुमेका थिए । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण पनि भारतीय पर्यटक आगमन राम्रो हुँदै आएको छ ।
मुलुकमा पर्यटक आगमनले रेकर्ड कायम गरिँदा बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन कोभिड अघिको लयमा अझै फर्किन नसक्दा पर्यटन व्यवसायी त्यति उत्साहित हुन सकेका छैनन् । कोरोनाले सन् २०२० र ०२१ मा पर्यटनसँगै अन्य क्षेत्र तहसनहस पारेको पारेको थियो । अहिले कोरोना प्रभाव छैन । तर पनि पर्यटक आगमन उत्साहबद्र्धन नहुँदा निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् ।
व्यवसायीले पछिल्लो समय जथाभावी सडकंजाल भत्काउने र लथालिंग छाड्ने गर्दा पनि आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन प्रभावित भएको बताउँछन् । ‘मुलुकमा पर्यटक आगमनले नयाँ रेकर्ड राखेको छ । काठमाडौं, पोखरा, चितवन आउने आन्तरिक र तेस्रो मुलुकका पर्यटक सडककै कारण लुम्बिनी आउन सकेका छैनन्’, पर्यटन व्यवसायी खिम श्रेष्ठले भने, ‘अर्कातर्फ मुलुकमा देखिएको आर्थिक मन्दीले पनि आन्तरिक पर्यटकमा कमी आएको छ ।’
तेस्रो मुलुकका सन् २०२३ मा सबैभन्दा धेरै नोभेम्बरमा १६ हजार ४११ र डिसेम्बर महिनामा १३ हजार ४९९ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । त्यसअघि फेब्रुअरीमा १२ हजार ५२२, मार्चमा १२ हजार २९७, अक्टोबरमा ९ हजार ३७४, सेप्टेम्बरमा ५ हजार ४०६, जनवरीमा ३ हजार ९८७, अप्रिलमा ३ हजार ९४२, अगष्टमा ३ हजार ५४५, मे मा १ हजार ६६५, जुलाईमा १ हजार ३९३ र सबैभन्दा जुनमा १ हजार १९१ जना पर्यटक लुम्बिनी आएका थिए ।
विकास कोषका सूचना अधिकारी बस्नेतका अनुसार सन् २०२३ मा तेस्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका १६ हजार १७२ जना पर्यटकले लुम्बिनी अवलोकन गरेका छन् । त्यस्तै, थाइल्याण्डका १५ हजार ७२१, भियतनामका १० हजार ४१४, चिनिया ६ हजार ११३, दक्षिण कोरियाका ५ हजार ३०२, जर्मनी २ हजार १९८ र १ हजार ६७८ अमेरिकी पर्यटक लुम्बिनी आएका छन् ।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इण्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अष्टेलियाबाट आउने पर्यटकहरूको संख्या धेरै हुन्छ । त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोष्टारिका, क्रोएटिया, साइप्रस, इजिप्ट, इष्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरूग्गे, स्विटजरल्याण्ड, स्विडेन, सुडान, स्लोभेनिया लगायतका मुलुकका पर्यटक समेत आउने गर्छन् ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि गतवर्षको आएका पर्यटकहरूको संख्याले केही आशा जगाए पनि नेपाल आएका पर्यटकको संख्यालाई हेर्दा लुम्बिनी आउने पर्यटकको संख्या भने अत्यन्त न्यून रहेको छ । सन् २०२३ मा तेश्रो मुलुकबाट १० लाख १४ हजार ८७४ पर्यटक नेपाल आएकोमा त्यसको साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आएका छन् ।
प्रतिकृया दिनुहोस्