डेढ वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडे ३६ हजार यात्रु


भैरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालन यता ३६ हजार १ सय ६ यात्रु विभिन्न मुलुकमा उडेका छन् । २०७९ जेठ २ गतेबाट २०८० पुष १४ गते सम्म १९ महिना १२ दिनमा कुल ४ सय ३० अन्तर्राष्ट्रिय उडान मार्फत ती यात्रुले उडान भरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नागरिक उड्यन प्राधिकरण कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले यस अवधीमा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा रहेको र ३६ हजार यात्रु यहीबाट आउजाउ गरेको जानकारी दिए । नेपालमा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको २५ वर्ष पुगेको अवसरमा भैरहवामा आयोजित वार्षिकोत्सव कार्यक्रममा महाप्रबन्धक पाण्डेले तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय उडान मार्फत आवतजावत गरेका ३६ हजार १ सय ६ यात्रु मध्ये आगमन तर्फ १५ हजार ५२६ जना र प्रस्थानतर्फ २० हजार १ सय ५५ जना यात्रुले यो विमानस्थल प्रयोग गरि आवतजावत गरेको बताए ।
‘जजिरा एयरवेजले कुवेत–भैरहवा–कुबेत सेक्टरमा कुल २५२ नियमित उडान तथा अवतरण गरी ३० हजार ३ सय ३८ यात्रु आवतजावत गरेको तथा हिमालयन एयरलाइन्सको भैरहवा– क्वालालम्पुर–भैरहवा सेक्टरमा ६८ चार्टर्ड उडान गरी ४ हजार ४ सय ९९ यात्रु आवागमन गरेका छन्’, पाण्डेले भने ।
ति बाहेक अन्य विभिन्न देशका ४९ निजी तथा चार्टर्ड उड़ान अवतरण भएको र गत जेठ ३० गतेदेखि नेपाल वायुसेवा निगमले मलेशियाको क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा पत्येक मंगलबार एक दिन नियमित उडान गर्दै आएको छ । ति उडान मार्फत अहिलेसम्म १ हजार १ सय ३६ यात्रु मलेशियाबाट आएको महाप्रबन्धक पाण्डेले जनाए । नेपाल बायुसेवा निगमको कनेकटिङ फ्लाइट मार्फत दिल्ली र हङगकङ जान चाहने यात्रुहरुका लागि सो सुबिधा समेत उपलब्ध छ ।
‘यसरी यो सुबिधा प्रयोग गरी ३३ जना हालसम्म दिल्ली र हङकङ गएका छन्,’ उनले भने, ‘अहिले हामीहरुको ध्यान यो बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कसरी गराउन सकिन्छ भन्नेमा केन्द्रित छ र हामीहरु त्यसैमा लागिरहेका छौं ।’ काठमाडौंबाट २७ वटा बिमान सेवा कम्पनीले बिभिन्न १७ देशका २७ गन्तब्यमा उडान गर्दै आइरहेका छन् । ‘ति बिमानसेवा कम्पनीहरुहरुलाई कसरी भैरहवामा आकर्षित गर्न सकिन्छ, के–कस्ता छुट लगायतका सुबिधा दिन सकिन्छ भन्ने बिषयमा हामी लागेका छौं’, उनले भने, ‘आशा छ, छिट्टै सकारात्मक नतिजा आउला ।’
उनका अनुसार अहिले पनि अन्तर्राष्ट्रिय उडान अवतरण गर्दा लाग्ने ल्यान्डिङ, पार्किङ लगायत अन्य सबै शुल्कहरु पूर्ण रुपमा छुट रहेको तथा ग्राउण्ड ह्याण्डलिङमा नेपाल बायुसेवाले ५० प्रतिशत छुट पाइरहेको छ । स्वदेशी बिमान सेवा कम्पनीहरुलाई यहाँबाट उडान गर्न बाध्य बनाउन सकिए पनि अन्तर्राष्ट्रिय बिमान सेवा कम्पनीहरुलाई भने अनुरोध तथा आग्रह मात्र गर्न सकिने हुन्छ । ‘ती देशसँग भएको हवाई सम्झौता अनुसार गर्नुपर्ने हुन्छ, तापनि हामी ति बिदेशी हवाई सेवा कम्पनीहरुलाई कसरी भैरहवाबाट उडान आकर्षित गर्न सकिन्छ भनेर लागि परिरहेका छौं,’ पाण्डेले भने ।
रात्रि बास यही गरी अन्तर्राष्ट्रिय उडान गर्ने अन्तर्राष्ट्रिय बिमानसेवा कम्पनीलाई बिशेष सेवासुबिधा उपलब्ध गराउने गरी आकर्षित गर्ने काममा अघि बढेको जनाउँदै सबैलाई आशाबादी हुन अनुरोध उनले गरे । बिमानस्थल सञ्चालनमा आएको १९ महिना बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा यस क्षेत्रमा बिमानस्थललाई हेरेर लगानी भएको पर्यटन क्षेत्रको अर्बौ लगानी डुब्ने खतरा बढ्दै गएपछि नीजि क्षेत्र चिन्तित हुँदै नियमित रुपमा दवाबमूलक कार्यक्रम गर्र्दै आएका छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल निकै ब्यस्त एवं साघुँरो हुँदै गएकाले पनि यो बिमानस्थलबाट छिटो भन्दा छिटो नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्नु पर्ने बताउँछन् । छिमेकी देशसंग हवाई रुट लगायतका सम्झौता सहमती छिटो भन्दा छिटो सरकारले गरी अघि बढ्नु पर्ने खानको भनाई छ । ‘काठमाडौंको बिकल्पका रुपमा यो बिमानस्थललाई अघि बढाउन लाग्नुपर्छ । उडान भए हवाईयात्री जति पनि पाइन्छ, अहिलेसम्म आउजाउ गरेका ३६ हजार बढी यात्रु प्रमाण हुन्’, खानले भने ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नियमित उडान नहुँदा नीजि क्षेत्रको लगानी अन्यौलमा परेको भन्दै सरकारसंग बिकल्प दिन माग गरे । ‘कि बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउनु पर्यो, होइन भने लगानी गरेका व्यवसायीलाई बिकल्प दिनु पर्यो, श्रेष्ठले भने, ‘नेपाल बायुसेवा निगमले एकतर्फी भए पनि उडान निरन्तर गरेकोमा धन्यबाद दिन्छौ । अब साताको एकपटक भए पनि दुई तर्फी उडान सोही रुटमा गर्न आग्रह गर्छौं ।’
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई हेरी यस क्षेत्रमा सञ्चालनमा आएका र बन्दै गरेका पर्यटकीय स्तरदेखि पाँचतारे सम्मका दर्जनौं होटलमा अर्बौंको लगानी रहेको र बिमानस्थल सञ्चालन हुन नसक्दा ति लगानी जोखिममा परेको बताए । ‘हामि बिमानस्थलबाट नियमित उडान अबतरणका लागि दवाबमूलक कार्यक्रम गर्दै आएका छौं, राज्यले सुनेको छैन,’ श्रेष्ठले भने ।
प्रतिकृया दिनुहोस्