April 23, 2025, Wednesday
२०८२ बैशाख १०

रोहिणीमा बालिका बीमा सुरु, छोरी संरक्षणमा टेवा पुग्ने विश्वास

भैरहवा– बालबिबाह, मातृशिशु मृत्युदर रोक्न र शिक्षामा छोरीको पहुँच बढाउन भन्दै रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर बालिका बीमा सुरु गरेको हो । यसको सुरुवात सोमबार ३ जना बालिकाको बीमा गरेर गरिएको छ । पालिकाकाले चालु आर्थिक वर्षमा ‘अध्यक्ष बालिका बीमा’ शीर्षकमा बजेट छुट्याएको छ ।

पालिकाले बीमाका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । पालिकाले प्रत्येक बालिकाको बीमावापत २० हजार रुपैयाँ प्रदान गर्नेछ । यो रकम बालिकाले २० वर्ष पुगेपछि प्राप्त गर्ने छन् । बीमामा अभिभावकको संरक्षकत्व रहने छ ।

Advertisement

पालिकाले बनाएको कार्यविधिमा, गाउँपालिकाका स्वास्थ्य संस्था वा पालिकाका स्वास्थ्य संस्थाले रेफर गरि पठाएको स्वास्थ्य संस्थामा जन्मिएको बालिकाको मात्रै बीमा गरिने उल्लेख छ । गाउँपालिका अध्यक्ष बिद्याप्रसाद यादवले छोरीको संरक्षणका लागि बीमा कार्यक्रम सुरु गरिएको जनाए । ‘छोरी २० वर्ष पुग्दा कति रकम पाउँछिन् भन्ने भन्दा पनि हामीले छोरी भएकै कारण हुने विभेदलाई रोक्न बीमा कार्यक्तम सुरु गरेका हौं’, उनले भने, ‘यसले पालिकाभित्र जन्मिने छोरीको संरक्षण सहयोग पुग्ने अपेक्षा छ ।’

उनका अनुसार बालिका २० वर्ष पुगेपछि साँवा–ब्याजसहित जम्मा भएको रकम निकाल्न मिल्छ । बालिकाको २० वर्षअघि बिहे भयो भने बीमा रकम पाइँदैन । यस्तै, प्रारम्भिक कक्षा पढ्न नपठाए पनि त्यस्ताको बीमा रोकिने प्रावधान बनाइएको छ । कार्यक्रम अन्तर्गत बालिकाका अभिभावक कार्यविधिले तोके बमोजिमको कागजात सहित गाउँपालिकामा सम्पर्क गर्नु पर्ने र यसरी आएको निवेदनमा गाउँपालिकाले २० हजार रुपैयाँ जम्मा गरिदिने छ । कार्यक्रमले बालविवाह मात्र नभई मातृ–शिशु मृत्युदर, भु्रण हत्या लगायत समेत अन्त्य गर्ने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।

बालिका बीमाको लागी गाउँपालिकाले आर्थिक बर्ष २०८०–०८१ को लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आवमा १ सय ९० जना बालिकाको बीमा गर्ने लक्ष्य राखिएको छ । ‘आवश्यकताका आधारमा आगामी बर्षहरुमा यो बजेट बढाउन सकिन्छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले भने, ‘यसले पालिका क्षेत्रमा छोरीमाथि हुने अन्याय, हिंसा, पठनपाठनको समस्या र भ्रुण हत्या हुने हाम्रो विश्वास छ ।’

तराईमा छोरी नपढाउने मात्रैन भई कम उमेरमा बिबाह गरिदिने प्रचलन पनि ब्याप्त छ । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि पश्चिम तराईका जिल्लामा बालविवाहको समस्या भयावह छ । दाईजो, उपयुक्त वर, पारिवारिक कलह आदिका कारण रुपन्देहीमा पनि २० बर्ष उमेर पुग्नु अगावै विवाह गरिदिने गरिएको छ । यस्तो समस्या रोहिणीमा पनि छ । बीमा कार्यक्रमले यसलाई रोक्ने आफूहरुको विश्वास रहेको पालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ३ का वडाध्यक्ष बीरबहादुर क्षेत्रीले बताए ।

‘गाउँपालिकाले बालविवाह रोक्नेबारे जनचेतना फैलाउने काम मात्र गरेका छैनौं, भविष्यमा यो समस्या आउन नदिन जन्मिने बित्तिकै बालिकाहरुको बीमा गरिदिन सुरु पनि गरेका छौं’, उनले भने । मधेश क्षेत्रमा बिशेष गरि अहिले पनि छोरीहरुको शिक्षा, विवाह लगायतका बिषयमा लिएर धेरै चिन्ता रहेको कारण थोरै भए पनि सो चिन्ता निराकरण गर्न योजना लागु गरिएको पालिकाले जनाएको छ ।

पालिकाले छोरी शिक्षाका लागि भन्दै बिद्यालयमा अध्ययनरत विपन्न छात्राहरुलाई साइकल वितरण गर्ने पनि गरिएको जनाएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख यमलाल न्यौपानेले कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले रकम भन्दा पनि छोरीहरुको सुरक्षामा बीमा कार्यक्रमले योगदान दिने जनाए । जिल्ला आधा दर्ज पालिकाले बालिका बीमा यस अघि नै सुरु गरिसकेका छन् ।