July 11, 2025, Friday
२०८२ असार २७ शुक्रबार

रमझम साँझ, रमाए पर्यटक

भैरहवा– आन्तरिक र बाह्य पर्यटक तान्न रुपन्देही पर्यटक व्यवसायीले अनेक उपाय अपनाइरहेका छन् । कोराना महामारी पछि विस्तारै तंग्रिँदै गएको पर्यटन क्षेत्र पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीले सिथिल छ । तर, यो क्षेत्रलाई चलाएमान बनाउन पर्यटन व्यवसायीले प्रयास भने जारी राखेका छन् । रुपन्देहीको बुटवल र बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरेर पर्यटनसँग सम्बद्ध व्यवसायीले आन्तरिक र बाह्य पर्यटक तानेका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनले बुटवलमा शनिबार र आइतबार दुई दिन अँग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सडक खाना महोत्सव सम्पन्न गरेको छ । पहिलो दिन २ हजार बढी पाहुँदा सडकमा पुगे, खाए र रमाए । आइतबार राति करिब १० हजार आन्तरिक र भारतीय पर्यटकले बुटवलको सडक खाना महोत्सवमा मनोरंजन लिएको दावी संगठनको छ ।

Advertisement

यता लुम्बिनीमा लुम्बिनी होटल संघ नेपालले आयोजना गरेको दासैं सडक खाना महोत्सव एवं सांस्कृतिक कार्यक्रममा आन्तरिक, भारतीय र बाह्य पर्यटक खुुबै रमाए । अँग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार साँझदेखि राति १२ बजेसम्म विविध सांस्कृति कार्यक्रमसँगै खाना महोत्सव भएको थियो । ‘नेपालका विभिन्न ठाउँदेखि भारतीय पर्यटक यहाँ आएर रमाए, यसले सिथिल पर्यटन क्षेत्रलाई थोरै भए पनि टेवा मिलेको छ’, संघका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले भने ।

एकै ठाउँमा तारे होटलदेखि बौद्धकालीन काला नमक र टिन्नी चामलको खाना, इम्रिति, पेडा, थाई मिठाई, थारु तथा मुस्लिम समुदायका परिकारको स्वाद लिन पाउँदा खाना महोत्सवमा लुम्बिनी पुगेका पाहुना खुशी देखिन्थे । महोत्सवमा पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, माछा, चुकौनी, नामी मिठाइको स्वादले पनि पर्यटक लोभिए । प्रवेशद्वारबाटै बाजागाजाले स्वागत पाउँदा पर्यटकमा त्यसको छुट्टै रौनक देखिन्थ्यो । आइतबार साँझको समय लुुम्बिनी पर्यटकमय भयो । पाहुना स्वाद लिँदै, नाच्दै, गाउँदै औधी रमाए । एकै ठाउँ धेरै परिकारको स्वाद लिन पाउँदा दंग परे ।

महोत्सवमा स्थानीयको पहिचान बोकेका खानादेखि आधुनिक र विदेशी खानाका परिकारका पनि पर्यटकले स्वाद लिए । लुम्बिनीका चिनारी, हस्तकलादेखि स्थानीय उत्पादन खरिदविक्री भयो । पर्यटक थारु, लाखे नाच, सांस्कृतिक बाजागाजा र स्थानीय गीतमा झुमे । यस्तै, आधुनिक, पप, डिजे र भोजपुरी विराहमा रमाए । यसले व्यवसायीमा उत्साह थपियो भने लुम्बिनी क्षेत्र चलायमान बनेको लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले जनाए ।

पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा भारतीय पर्यटक आगमन राम्रो छ । पर्यटकको संख्या धेरै हुुँदैमा पर्यटकीय गन्तव्यको प्रबद्र्धन भने सम्भव छैन । पर्यटकबाट लाभ लिन उनीहरुको बसाइँ अवधी लम्ब्याउन जरुरी छ । त्यसका लागि पर्यटक टिक्ने वातावरण जरुरी हुन्छ । सेवा र मनोरञ्जनका कार्यक्रमले पाहुुनाको बसाइँ लम्बिन्छ । पछिल्लो समय विभिन्न अवसर पारेर पर्यटन व्यवसायीले यस्ता कार्यक्रम आयोजना गर्न थालेका छन् ।

पर्यटनसँग सम्बद्ध संघसंस्थाले मात्रै होइन्, होटल–होटलमा पनि नयाँ वर्षको पूर्वसन्ध्यामा कार्यक्रम भए । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर होटल तथा रेष्टुुराँमा करोडौं रुपैयाँ लगानी गरेका व्यवसायीले अँग्रेजी नयाँ वर्षमा आयोजना गरेका कार्यक्रमले धेरैलाई रमाइलो बनायो । होटल पौवा, सिद्धार्थ भिलासा, टाइगर प्यालेस, बोधी कटेज जस्ता ठूला र गनिएका होटलमा पनि नयाँ वर्ष इभ भयो । राष्ट्रिय तथा स्थानीय कलाकारसँगै त्यहाँ पुगेका पाहुँना रातिसम्म खानपिन र नाचगानमा रामाए ।