July 11, 2025, Friday
२०८२ असार २७ शुक्रबार

बुटवल–तानसेन खण्ड सोमबारदेखि रातिमा बन्द गरिने

भैरहवा– सुरुङमार्ग निर्माणका लागि बुटवल–तानसेन खण्ड सोमबारदेखि रातिमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड एक रात बन्द हुने भएको छ । सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई निर्वाध रुपमा अगाडि बढाउन तथा सम्भावित निर्माणजन्य जोखिम हटाउनका लागि रातिको समयमा सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बिहीबार बसेको सरोकारवालाको बैठकले सिद्धबाबा सुरुङमार्गको आयोजना कार्यालयको अनुरोध र जिल्ला प्रशासन कार्यालय पाल्पाको निर्णय समेतको आधारमा पुस १६ गतेदेखि (राति १० बजे देखि बिहान ४ बजेसम्म) एक सय दिनसम्म अत्यावश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, शववाहन, विपदका साधन) बाहेक सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

माघे संक्रान्ति पर्वका लागि पुस २९ र माघ १ गतेका लागि पूर्ववतः रुपमा सवारीसाधनको आवागमन हुने कार्यालयले जनाएको छ । बन्द हुने अवधिमा साना सवारी साधनका लागि बैकल्पिक रुपमा नुवाकोट–दोभान सडकखण्डलाई प्रयोगमा ल्याउने निर्णय भएको कार्यालयले जनाएको छ ।

सडकखण्ड बन्द गर्ने एक सय दिनको समयावधिलाई दुई चरणमा विभाजन गरी आयोजनाको प्रगति लगायत विश्लेषणका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जनसहित कार्यान्वयन लैजाने कार्यालयले जनाएको छ ।