भैरहवामा ‘जाउँ है पोखरा’


भैरहवा– आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ‘जाउँ है पोखरा’ अभियान संचालन गरेको होटल संघ पोखरा नेपालले शनिवार भैरहवामा पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २९ गतेदेखि थालिएको उक्त अभियान पुस ४ गतेसम्म भैरहवा हुँदै नेपालगञ्ज, धनगढी र महेन्द्रनगरसम्म पुर्याउने योजना पोखरा होटल संघको छ । शुन्य अवस्थामा रहेको पोखराको आन्तरिक पर्यटनलाई कसरी चलायमान बनाउने ? भनेर झण्डै २ दशकअघिदेखि पोखराका पर्यटन व्यवसायीले यो अभियान संचालन गर्दै आएका छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कुनै एक ठाउँमा आएका स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालको अन्य पर्यटकीय स्थलहरुमा पनि कसरी पुर्याउन सकिन्छ ? भन्ने वारेमा पर्यटन व्यवसायीबीच साझा योजनाकासाथ अघि बढ्नका लागि अभियान संचालन गरिएको बताए । पोखरा पुग्ने अत्याधिक भारतीय पर्यटकको आगमनको श्रोत तथा नाका सुनौली–भैरहवा रहेको उनले जनाए । ‘लुम्बिनी, भैरहवा र पोखरा आएका पर्यटकलाई एक अर्को ठाउँमा कसरी पठाउन सकिन्छ ? भन्ने वारेमा साझा योजना बनाउन जरुरी छ’, सुवेदीले भने, ‘आन्तरिक पर्यटन नै हाम्रो दीगो पर्यटन भएकाले आन्तरिक पर्यटनको प्रबद्र्धन साझा रुपमा गर्न जरुरी छ ।’
नेपाल भ्रमण बर्ष, पर्यटन बर्ष जस्ता विभिन्न नाममा राज्यले पर्यटन व्यवसायीलाई लगानी गर्न उत्साहित बनाउने तर पर्यटन व्यवसाय थलिएको वेलामा पनि संरक्षणका लागि कुनै कार्यक्रम ल्याउन नसकेको गुनासो उनले गरे । उनका अनुसार, कोभिडपछि पोखरामा २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भएका छन् । सन् २०२६ सम्ममा पोखराको पर्यटन पुरानै लयमा फर्काउने लक्ष्य राखिएको छ ।
संघले पोखरा र गण्डकी प्रदेशका अन्य स्थल घुम्न ५ वटा प्याकेज सार्वजनिक गरेको छ । प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन् । होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई रात देखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यबीचका रहेका छन् ।
आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशक अघि संचालित अभियानले भौरहवाका अतिरिक्त नेपालगंज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ र अभियान ४ पुस सम्म चल्ने संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
भैरहवामा आयोजित कार्यक्रमा सिद्धर्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रुपमा संचालनमा नआउनु दुर्भाग्य भएको बताए । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्न आफूहरुको दबाबमूलक आन्दोलन जारी रहेको उनले सुनाए ।
पत्रकार माधव ढुंगानाले पोखरा र गौतम बुद्ध विमानस्थलको यथोचित संचालनका लागि सरकारलाई एकीकृत दबाब दिनुपर्ने सुझाव राखे । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको र आफूहरुको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिए । विमानस्थल संचालन सम्बन्धि मुद्दामा परिषद्को ऐक्यबद्धता रहेको उनले सुनाए ।
पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने भनाई राखे । भारतीय पर्यटकका पाँच सय गाडी बेलहिया नाकाबाट पार हुने गरेको जानकारी पनि उनले दिए । पत्रकार नरेश केसीले पोखरा, लुम्बिनी र चितवनलाई समेटेर गोल्डेन ट्र्याङ्गलको अबधारणा अगाडि बढाउनु पर्ने सुझाव राखे ।
देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको जाउँ है पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीले जानकारी दिए । अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको उनले सुनाए । गएको कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न शहरमा पनि संघले यो अभियान संचालन गरेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए । नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पनि कार्यक्रममा भनाई राखेकी थिइन् ।
पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ । कोभिड १९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउन समेत यो अभियानले बल दिने आयोजक संघका महासचिव राजेन्द्र ढकालले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार जनालाई एकैदिन सेवा दिन सक्ने क्षमता रहेको र यी होटलमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्