May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिँदै सिद्धार्थ सञ्जाल

भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको सिद्धार्थ संजाल रुपन्देहीले बिशाल बिरोध र्याली प्रदर्शन तयारीको पूर्व सन्ध्यामा स्थानीय पत्रकारसंग आन्दोलनका वारेमा राय सुझाव लिएको छ । सञ्जालले सोमवार भैरहवामा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आन्दोलनको स्वरुपका वारेमा रायसुझाव लिएको हो ।

Advertisement

कार्यक्रममा सहभागी अधिकांश पत्रकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि सरकारलाई दवाव स्वरुप आन्दोलन गर्नु जायज भए पनि सिमानाका बन्द र उक्त बिमानस्थलबाट संचालन हुने आन्तरिक हवाइ उडान बन्द नगर्ने खालको आन्दोलन कार्यक्रम संचालन गर्न सुझाव दिए ।

Advertisement

संजालको अगुवाइमा हुन थालेको चरणबद्ध आन्दोलनमा जनस्तरदेखि विभिन्न व्यवसायिक संघसंस्था र राजनीतिक दलको समेत सहभागिता र ऐक्यबद्धता जुटाउन आवश्यक भएको कुरा औंल्याए । लुम्बिनी प्रेस क्लवका कार्यबाहक अध्यक्ष कमल रायमाझीले अन्तर्राष्ट्रिय उडान बन्द गर्दा अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र नेपालकै पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने र आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा पुन: आर्थिक समस्या जटिल हुने तर्फ सचेत रहन आग्रह गरे ।

‘आन्दोलनमा संयमता अपनाएर एकपछि अर्को गर्दै चरणबद्ध संघर्षका कार्यक्रम लिएर जानु पर्छ । एक दिन आंधिबेरी ल्याउने र भोलीपल्टदेखि सुस्ताउने गर्न हुँदैन’, रायमाझीले भने, ‘बन्दलाई आन्दोलनको अन्तिम बिकल्पको रुपमा लिइनु पर्छ । एकै पटक आन्तरिक उडान बन्द गर्दा बल्ल बल्ल तंग्रिन थालेको नेपालको पर्यटनमा नकारात्मक प्रभाव पर्न सक्छ ।’

लुम्बिनी प्रेस क्लवका सदस्य तथा अग्रज पत्रकार अरुण ज्ञवालीले आन्तरिक हवाइ उडान बन्द गर्नु भन्दा भैरहवा विमानस्थलको प्रयोग गर्ने प्रधानमन्त्री, विभिन्न मन्त्री र सरकारी निकायका उच्च पदस्थका कर्मचारीलाई बहिष्कार गरि उनीहरुलाई भैरहवाबाटै काठमाडौं फर्काइदिने कार्यक्रम संचालन गर्न आग्रह गरे ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन गर्न नसकेको सरकारको गल्ती र वेवास्तालाइ जोडेर सर्वसाधरण यात्रुलाई सास्ती हुने खालको कार्यक्रम ल्याउनु हुँदैन’, ज्ञवालीले भने, ‘कोही बिरामी भएर उपचारका लागि आपतकालीन अवस्थामा उड्न नपाए त्यसको दोष को माथि आउँछ ? ।’

पत्रकार शशि पन्थी र प्रतिक पौडेलले पनि आन्तरिक उडान बन्द गर्ने कार्यक्रमको सट्टामा मन्त्री, प्रधानमन्त्रीलाई बहिष्कार गर्ने र विमानस्थल पूर्ण क्षमतामा संचालन गर्ने सवैको साझा एजेण्डा भएकाले आन्दोलनमा सवैको ऐक्यबद्धता र सहभागिता जुटाउनु पर्ने बताए ।

अग्रज पत्रकार कुलमणि ज्ञवाली र दीपक घिमिरेले आन्दोलनको बिकल्प नभएकाले आन्तरिक उडान पनि ठप्प पार्नु पर्ने सुझाव दिए । ‘हरेक आन्दोलन बन्द बाट नै सफल भएका छन् र भैरहवामा गरिएको आन्दोलनको सुनुवाइ काठमाडौंमा हुँदैन’, पत्रकार ज्ञवालीले भने, ‘बन्दले केही दिन सवैलाई समस्या भए पनि सार्थक परिणाम आउने भएकाले बन्द सफल बनाउनु पर्छ ।’

संजालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार उदाशिन रहेको भन्दै यसको बिरोधमा आउँदो शुक्रवार (मंसिर २२ गते) भैरहवामा बिशाल बिरोध र्याली प्रदर्शनको तयारी गरिएको छ । संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले सञ्जालले घोषणा गरेको चरणबद्ध आन्दोलनको सुरुवात बिरोध प्रर्दशन र्यालीबाट गरिने बताए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन र नियमित अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दै धेरै पटक प्रधानमन्त्री, पर्यटन मन्त्री, गृहमन्त्री, मुख्यमन्त्री लगायत्का विभिन्न निकायमा पूर्व जानकारी सहित ज्ञापनपत्र बुझाइए पनि कुनै सुनुवाइ नै गरिएन’, ज्ञवालीले भने, ‘हामीले राखेका मागको कुनै सम्बोधन नभएपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रेका हौं ।’

चरणबद्ध आन्दोलन अन्तर्गत आउँदो कात्तिक २४ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्ना र २५ गतेदेखि गौतम बुद्ध विमानस्थलबाट हुने सवै आन्तरिक उडान बन्द गर्ने कार्यक्रम संजालले सार्वजनिक गरेको छ ।

सञ्जालका बरिष्ठ उपाध्यक्ष तथा आन्दोलन संघर्ष समितिका संयोजक चन्द्र प्रकाश श्रेष्ठले लुम्बिनी प्रदेशका विभिन्न नीजि व्यवसायिक संघसंस्था, पर्यटन व्यवसायी, नागरिक समाज र राजनीतिक दल समेतसंग समन्वय र सहभागीतामा चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको बताए ।

चरणबद्ध आन्दोलन गर्ने वारेमा एक-डेढ महिना अघि नै प्रधानमन्त्री, मन्त्री लगायत् सरकारका विभिन्न् निकायमा जानकारी गराउदा पनि कुनै चासाे नदेखाइएको आरोप उनले लगाए । आन्दोलनमा भैरहवा, तिलोत्तमा, बुटवल, देवदह, नवलपरासी लगायत् लुम्बिनी प्रदेशकै व्यवसायिक संघसंस्था र जनस्तरको ऐक्यबद्धता छ ।