May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

कवाडको गोदाम हटाइयो

भैरहवा– सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा हटाइएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाएको कवाड गोदाम हटाएको हो ।

Advertisement

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले वडा नम्बर २ मैनिहवास्थित ए.एस.पी. स्क्रेप सप्लायर्स नामक कवाड गोदाम हटाएको हो । व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकाले व्यवसाय सञ्चालनमा रोक लगाइएको अध्यक्ष यादवले जानकारी दिए ।

Advertisement

पटकपटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि वेवास्ता गरेपछि गोदामको गेट तथा पर्खाल भत्काइएको उनले बताए । ‘सीमा क्षेत्रमा रहेको कवाडको गोदामका कारण अवैध गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गर्दै गोदाम हटाइएको छ’, अध्यक्ष यादवले भने ।

वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले दर्ताबिना सञ्चालन भइरहेको कवाड संकलन गर्ने गोदाममा अवैध गतिविधि भइरहेको भन्ने जनताको गुनासो आएकोले संरचना भत्काइएको बताए । उनले आगामी दिनमा सीमा क्षेत्रमा कुनै पनि अवैध गतिविधि हुन नदिने गरी अघि बढ्ने बताए ।