१५ करोड लगानीमा भैरहवामा खुल्यो होटल समृद्धि
भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न होटल संचालनमा आएको हो । होटल संचालक राबहादुर थापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी होटल समृद्धि संचालनमा ल्याएको जानकारी दिए ।
‘विमानस्थलको नजिकै छ, यहाँबाट उड्ने हवाई यात्रु, लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटक र आन्तरिक घुमन्ते पाहुनाको सुविधालाई मध्येनजर गर्दै होटल समृद्धि मार्फत् हस्पिटालिटीको सेवाहरु उपलब्ध गराउने प्रयास गरेको छु’, उनले भने, ‘देशमा देखिएको आर्थिक मन्दीका बीच निराशालाई उत्साहमा बदल्ने प्रयास स्वरूप अघि बढेको छु ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै अवस्थित यस होटल समृद्धिमा सिल्भर रूम, गोल्ड रूम, डाइमण्ड रूम, प्लाटिनम रुम गरी ३६ वटा विभिन्न क्याटगरीका कोठाहरु छन् । ‘हरेक कोठामा एसी, एटेज वाथरुम, वाईफाई, आरामदायी र अत्याधुनिक सुविधा उपलब्ध छन्’, थापाले भने, ‘लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरमा विशेष गरेर लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर संचालन गरिएको होटल समृद्धिमा पाहुनाहरुको सुरक्षालाई विशेष ध्यान दिइएको छ ।’
उनले स्वास्थ्य मानिसको सबैभन्दा महत्वपूर्ण पाटो भएको जनाउँदै यसैलाई मध्यनजर गर्दै स्वस्थकर खानालाई प्राथमिकतामा राखेको बताए । ‘पर्यटकको रोजाई अनुसार नेपाली, इण्डियन, चाइनिज कन्टिनेन्टल खानाका परिकार समृद्धिमा उपलब्ध रहनेछन्’, संचालक थापाले भने । एकै पटकमा ५० जनासम्म अट्न सक्ने रेष्टुरेण्ट, बर्थडे पार्टी, एनिभर्सरी लगायतका पारिवारिक कार्यक्रमका लागि क्याविनको समेत व्यवस्था यहाँ छ । सेमिनार हल, पार्किङ्गको सुविधा रहेको यस होटलमा शुभारम्भको अवसरमा हरेक कोठामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
‘नाफा कमाउने उद्देश्य भन्दा पनि पर्यटकको सुविधालाई लक्षित गरी संचालन गरिएको हो’, थापाले भने, ‘होटल समृद्धिको रेष्टुरेण्टमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले रेष्टुरेण्टको मेनुमा समेत न्युन दर कायम गरिएको छ ।’ पर्यटकको लुम्बिनी बसाइँ लम्बाउनका लागि होटल समृद्धिले भारतीय पर्यटकलाई लक्षित गरी भैरहवा, पोखरा मुक्तिनाथ तथा धार्मिक पर्यटकलाई बुद्धसर्किट भैरहवा, लुम्बिनी, तिलौकोट कपिलवस्तु र रामग्राम नवलपरासीसम्मको प्याकेजको व्यवस्था गर्ने उनले जनाए ।
‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोरोनाकाल पछि सुस्ताइरहेको अवस्थामा नेपाली युवाहरुलाई आफ्नै घरआगनमा रोजगारी दिने र पलायन युवा जनशक्तिलाई नेपालमै रोक्ने हाम्रो अर्को महत्वपूर्ण उद्देश्य हो’, उनले भने । सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालन गर्नुपर्ने उनले जनाए । ‘विमानस्थल पूर्णरुपमा संचालनका लागि दवाव सिर्जना गर्ने र यहाँको पर्यटन व्यवसायलाई जोगाउने काममा सबै लाग्नपर्छ’, उनले भने ।
विमानस्थल नजिकै भएकाले पैदल हिँडेर पनि पुग्न सकिन्छ । यसले हवाई यात्रुलाई सहजता प्रदान गर्ने विश्वास संचालकको छ । संचालक थापाले भैरहवाबाट वैदेशिक रोजगारीमा जाने यात्रुहरुलाई आर्थिक समस्या परेमा होटलमा खानबस्न निःशुल्क दिइने जनाए । यस्तै, सबै किसिमका पाहुनालाई विमानस्थलसम्म लैजान र ल्याउन निःशुल्क सवारीको व्यवस्था मिलाइएको छ । होटलमा तत्काल २५ जनाले रोजगारी पाएका छन् । विमानस्थल पूर्णरुपमा संचालनमा आए होटल विस्तार गर्ने थापाले बताए ।
प्रतिकृया दिनुहोस्