बुटवलको बसपार्कमा स्नानगृहसहितको सुविधा सम्पन्न शौचालय निर्माण सुरु


बुटवल– रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधा सम्पन्न शौचालय निर्माण सुरु भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उक्त शौचालयको शिलान्याश गरेका छन् । १ करोड ८० लाख ८४ हजार लागतमा उपमहानगरले स्नानगृहसहितको शौचालय बनाउन लागेको हो ।
शिलान्याशपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको जनाए । उनले बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताए ।
उनले बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिनुपर्ने जनाए । बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने उनको भनाई छ ।
नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको नगर प्रमुख पाण्डेयले स्पष्ट पारे । नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको समेत उनले उल्लेख गरे ।
३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थलसमेत रहने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए । वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको समेत साथ र सहयोग आवश्यक हुने उल्लेख गरे । आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले बताए ।
प्रतिकृया दिनुहोस्