बुटवलको पशु बधशाला असोजभित्रै सञ्चालन हुने


बुटवल– लामो समयपछि रुपन्देहीको बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र बैंकका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो ।
नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले जनाए ।
सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।
बधशाला सञ्चालनमा आएपछि बुटवलबासीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने बधशालामा खसीबोकाको स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोग गर्न पाउने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनले बुटवललाई व्यवस्थित र आधुनिक सहरका रुपमा स्थापित गर्नका लागि बधशालाले थप मदत पुर्याउने बताउँदै बधशाला सञ्चालनपछि यस क्षेत्रका किसान र व्यवसायीलाई समेत लाभ पुग्ने बताए । बधशाला सञ्चालनपछि बुटवल स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित हुने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले जनाए ।
उनका अनुसार बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भइसकेको छ । ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।
बधशाला सञ्चालनपछि बुटवलको मासु स्वस्थ र स्वच्छ हुने र उपभोक्ताले निर्धक्क भएर उपभोग गर्नसक्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताए । उनले अव्यवस्थित तरिकाले पशु बध र भण्डारण गर्ने गरेका कारण बुटवलका अधिकांश स्थानमा अस्वस्थ मासु बिक्री हुने गरेको अनुगमनका क्रममा पाइएको र बधशाला सञ्चालनपछि त्यस्तो समस्या हट्ने जनाए ।
झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।
यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ ।
बधशालालाई छिट्टै नै सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाउने र यस क्षेत्रका किसान र व्यवसायीलाई जोडेर व्यवस्थित तरिकाले बधशाला सञ्चालन गर्ने मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक रामशरण तिमिल्सिनाले बताए । उनले मुक्तिनाथ लाइभस्टक मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक कम्पनीमध्येको एक रहेको र यसले आफ्नो विगतको अनुभवका आधारमा व्यवस्थित तरिकाले बधशाला सञ्चालन गर्ने जनाए ।
उनका अनुसार मुक्तिनाथ कृषि कम्पनीमा मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लिमिटेड र मुक्तिनाथ ट्रेडिङ लिमिटेड गरी ८ वटा सहायक कम्पनीहरु छन् ।
प्रतिकृया दिनुहोस्