बर्दियाको ठाकुरबाबामा विश्व पर्यटन दिवस मनाइने, होटलमा २५ प्रतिशत छुट


भैरहवा– लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा यस वर्ष विश्व पर्यटन दिवस मनाइने भएको छ । दिवस भव्य तुल्याउन तयारी तिब्र पारिएको छ । आगामी असोज १० गते विश्व पर्यटन दिवसका दिन यहाँको ठाकुरबाबा नगरपालिकामा मनाउने गरी तयारी अन्तिम चरणमा छ ।
पर्यटन दिवस सफल बनाउन प्रदेश पर्यटन विकास परिषद् प्रवद्र्धक छ । यसको आयोजनाका लागि ठाकुरबाबा नगरपालिकाले मूल समारोह समिति गठन गरेर तयारी गरिरहेको छ । मुलुककै सम्भावना बोकेको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाउन लागिएको ठाकुबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले बताए । अहिले दिवस भव्य बनाउन प्रचारप्रसारको काम भइरहेको उनले बताए ।
दिवस समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहभागी हुनेछन् । त्यस बाहेक पर्यटन र जैविक विविधतासित सम्बन्धित व्यक्तिको सहभागिता रहने प्रमुख लम्सालले जानकारी दिए । दिवसमा विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्न उपसमितिसमेत गठन गरेर कार्य विभाजन गरिएको छ ।
‘दिवसका लागि ल्यान्ड अफ टाइगर’ बर्दिया जाउँ, पर्यटन गतिविधिसँगै प्रकृति र संस्कृतिमा रमाऔँ, विश्व पर्यटन दिवस २०८० भव्यरूपमा सफल पारौँ भन्ने नारा तय गरिएको छ । यस अवसरमा ठाकुरबाबाका पर्यटकीय होटलमा असोज महिनाभरि आरामदायी आवासमा २५ प्रतिशत छुट दिँदै प्रकृति र संस्कृतिको आनन्द लिन अनुरोध गरिएको छ ।
बर्दियामा बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसँगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतिसँगै होमस्टेहरूमा स्थानीय परिकार खान पाइन्छ । यस्तै ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्जभित्र जङ्गल वाक, जीप सफारी, र्याफ्टिङ, क्याम्पिङ, फिसिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमा रमाउन सकिन्छ । दिवसका लागि सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति अन्तर्गत झाँकी प्रदर्शन, स्थानीयस्तरका राष्ट्रिय कलाकारलाई समेत आह्वान गरिने निर्णय भएको छ ।
पर्यटन क्रियाकलाप उपसमिति अन्तर्गत चित्र चिन्ने प्रतियोगिता, जीप सफारी, हात्तीबाट गज परिक्रमा, ऐतिहासिक ठाकुरद्वारा मन्दिरको महाआरती, स्लो साइक्लिङ रेस, निकुञ्ज परिसर अवलोकनका साथै स्थानीयस्तरमा बर्दिया घुम्न जाउँ भन्ने खालको सामाजिक सञ्जालका लागि चार वटा विधामा भिडियो प्रतियोगिता पनि समावेश गरिएको छ । बैठकमा विभिन्न प्रस्तावमाथि छलफल गरी विश्व पर्यटन दिवस मनाउनका लागि लाग्ने अनुमानित बजेट लागत विवरणसमेत तयार पारिएको छ ।
ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लाभरका पर्यटकीय गतिविधिका बारेमा जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मनाउन लागिएको विश्व पर्यटन दिवसका लागि झण्डै १६ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए ।
ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले दिवसका अवसरमा गरिने पर्यटकीय गतिविधिका बारेमा गरिने सन्देशमूलक कार्यले नगरपालिकासहित बर्दियालाई चिनाउने ठूलो अवसर रहेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायलाई सहयोग गर्न अपिल गरे ।
बर्दियासहित छिमेकी जिल्लाका सञ्चारमध्यमहरूबाटपनि प्रमुख पर्यटकीय गतिविधि समेटिएका सन्देशमुलक सूचना प्रसारण, प्रकाशनका साथै ब्रोसर, पोस्टर, पम्प्लेट, भिडियो डकुमेन्ट्री, सामाजिक सञ्जालमासमेत सूचना दिई आन्तरिक पर्यटक बढाउने खालका प्रचारप्रसार गरिने होटल संघ बर्दियाका अध्यक्ष एवम् प्रचारप्रसार उपसमितिका संयोजक मोहनलाल चौधरीले जनाए ।
प्रतिकृया दिनुहोस्