‘लुम्बिनी बनाउन हातेमालो गरौं’


भैरहवा– लुम्बिनी विकास कोषका पदाधिकारी र यहाँका उद्योगी व्यवसायीले लुम्बिनी बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले निजी क्षेत्र, विज्ञ, स्थानीय बासिन्दा र पदाधिकारी तथा कर्मचारी सबैले दत्तचित्त भएर लुम्बिनीको विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्ने जनाए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामासँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले लुम्बिनीलाई केन्द्रमा राखेर यहाँ लगानी भएको र त्यो लगानी संरक्षण गर्न पनि लुम्बिनीको विकास जरुरी रहेको बताए ।
छलफलमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले आफ्नो जीवन नै बुद्ध जीवनी र बुद्ध दर्शनमा समर्पित भएकाले केही गरौं भन्ने उद्देश्यसहित यहाँ आएको जनाए । ‘मैले एउटा ठूलो जिम्मेवारी लिएर आएको छु,’, उनले भने, ‘मेरो कार्यकालमा लुम्बिनी केही गरेर देखाउनु छ । यसका लागि सबैको सल्लाह, सहयोग र सहकार्य आवश्यक छ ।’ उनले बुद्ध र बुद्ध शर्दन भनेपछि संसारमा सबैलाई नभइ नहुने र सबैको कमाण्ड गर्ने भएकाले लुम्बिनीप्रति सबैको ससद्भाव र अथाहा माया रहेको उल्लेख गरे । त्यसैले यहाँको विकासमा सबैको सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।
‘बुद्ध जन्मभूमिमा सेवा गर्न आएको छु । यहाँ कुनै किसिमका अनियमितता गर्ने छैन र गर्न दिने छैन’, उनले भने, ‘अहिले लुम्बिनी धेरै माथि पुग्नुपर्ने हो । तर, सोचेअनुसार विकास भएन । अब गर्नुपर्छ ।’ उनले लुम्बिनी गुरुयोजनामा पूरा गर्नुपर्नेमा जोड दिए । ‘तर लामो समय गुरुयोजना पूरा नहुँदा अविश्वास बढीरहेको छ । गुरुयोजनाकै कारण लुम्बिनी अस्तव्यस्त भयो । त्यसैले मैले लुम्बिनी गुरुयोजनालाई मुख्य प्राथमिकता राखेको छु’, उपाध्यक्ष लामाले भने ।
मायादेवी मन्दिरको रिडिजाइन गरि मोर्डन टेक्नोलोजी अनुसार बनाउनुपर्ने जनाउँदै उनले यसतर्फ आफू लाग्ने जनाए । विकास कोषमा सबैको सहभागिता बनाउन विभिन्न उपसमिति बनाएर काम गर्न सुरु गरिसकेको लामाले बताए । ‘त्यस्ता समितिको बैठक प्रत्यक महिना राखेर सल्लाह सुझाव लिएर अघि बढ्ने छु । सबैको सहयोगले लुम्बिनी बन्ने हो । लुम्बिनी बनाउन हातेमालो गर्नुपर्छ’, उनले भने । उनले अब लुम्बिनीमा नियमित पुजा गर्ने वातावरण बनाउने बताए । पर्यटक बसाउन बौद्ध सर्किटका क्षेत्रको विकास पर्याप्त नहुँदा समस्या भएको जनाउँदै उनले अब यी क्षेत्रको विकास गरेर अघि बढ्ने उल्लेख गरे ।
संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विकास कोषले गर्ने कार्यले स्थानीय प्रत्येक्ष लाभान्वित हुनपर्नेमा जोड दिए । ‘यहाँका हरेक कार्यबाट स्थानीय, निजी क्षेत्र, सरकार सबै लाभान्वित हुन्छन्, अहिले केही समस्या छ, त्यसलाई हटाएर अघि बढ्नुपर्छ ।’ उनले लुम्बिनी राम्रो बन्नुपर्नेमा जोड दिए । ‘विगतमा जति काम हुनुपर्ने हो, त्यति भएन । अब होस्’, उनले भने, ‘गुरुयोजनाले छिट्टै मूर्तरुप पाओस् ।’ मायादेवी मन्दिरको स्वरुप परिवर्तन गर्न नहुनेमा उनले जोड दिए । स्थानीयको साथ र सहयोग लिएर अघि बढे लुम्बिनीको विकासमा थप टेवा पुग्ने उनले बताए ।
संघका बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले काम गर्ने इच्छाशक्ति भए कसैले अवरोध गर्न नसक्ने जनाउँदै उपाध्यक्षको कार्यकालमा लुम्बिनी साँच्चिकै विकसित हुने विश्वास व्यक्त गरे । ‘त्यसैले भिन्न किसिमको काम गरेर लुम्बिनी विकासको प्रगति गर्नुहोला । सम्झनलायक काम गर्नुहोला’, उनले उपाध्यक्षलाई शुभकामना दिँदै भने ।
उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले लुम्बिनी देखाएर यहाँका स्थानीय, व्यवसायी र मुलुक धनी हुनुपर्नेमा त्यो हुन नसकेको जनाए । ‘हामी अझै लुम्बिनीका साना काम गर्न सकेका छैनौं, कसरी लुम्बिनी देखाएर धनी हुन सक्छौं’, उनले भने, ‘अब लुम्बिनी राम्रो बन्नुपर्छ, बाँकी काम पूरा हुनुपर्छ ।’ स्थानीय अपनत्व नभएसम्म कुनै ठाउँको विकास हुन नसक्ने उनले जनाए । उनले लुम्बिनी पुग्ने चारैतिरका सडक हरियाली, बुद्धमय हुनुपर्नेमा जोड दिए ।
संघका महासचिव कृष्णप्रसाद घिमिरे, पूर्व अध्यक्षहरु रामकुमार शर्मा र कुलप्रसाद न्यौपाने तथा सदस्यहरु कैलाश गुप्ता, यमकला न्यौपाने र धर्मराज आचार्य लगायतले बोल्दै विकास कोषमा स्थानीय व्यक्तिको सहभागिता हुनुपर्ने, लुम्बिनीमा पर्यटक टिक्ने वातावरण बनाउनुपर्ने, बुद्ध जीवनी झल्कने कार्यक्रम गर्नुपर्ने बताए । उनीहरुले लुम्बिनी गुरुयोजना तत्काल पूरा गर्नुपर्नेम जोड दिए ।
प्रतिकृया दिनुहोस्