June 9, 2026, Tuesday
२०८३ जेष्ठ २७ बुधबार

सियारीमा प्रतिफलमा आधारित अनुदानलाई प्रोत्साहन

भैरहवा– सियारी गाउँपालिकाले प्रतिफलमा आधारित अनुदानलाई प्रोत्साहन गरेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

Advertisement

गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्रायः सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित भएर अनुदान दिँदै आएको छ । सियारीले आर्थिक वर्ष २०७९–०८० मा साढे ३ करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको अध्यक्ष घिमिरेले बताए । अध्यक्ष घिमिरेले सियारीमा रहेका किसानहरुको हितका लागि यस वर्ष पनि अनुदानका कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले किसानको विकास नहँुदासम्म मुलुक आर्थिक रुपमा सबल र सक्षम हुन नसक्ने उल्लेख गर्दै किसान र कृषि क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement

अध्यक्ष घिमिरेले प्रतिफलमा आधारित अनुदान कार्यक्रम लागू गर्नेमा सियारी लुम्बिनी प्रदेशमै उत्कृष्ट र पहिलो भएको दावी गर्दै खाली जग्गा नराख्न सबै कृषकलाई आग्रह गरे । सियारीले १० कठ्ठासम्ममा माछापालक कृषकका लागि प्रतिकेजी ५ रुपैयाँ अनुदान दिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै ३ सय ७५ जना किसानलाई २३ लाख २५ हजार ५ सय ७७ रुपैयाँ अनुदानवापतको रकम दिइएको आर्थिक विकास शाखा प्रमुख गणेश प्रसाद खनालले बताए ।

गाउँपालिकाले सियारीभित्रका २ हजार ३ सय १७ दशमलव ९३ कठ्ठामा ६ वटा २३ वटा पोखरीमा माछापालन गर्ने किसानलाई अनुदानवापतको रकम प्रदान गरेको शाखा प्रमुख खनालले जानकारी दिए । यी पोखरीबाट ४ लाख ६५ हजार १ सय १५ केजी माछा उत्पादन भएको छ । त्यसैगरी प्रतिफलमा आधारित अनुदान कार्यक्रम अन्तरगत दुध उत्पादन कार्यक्रम अन्तर्गत आर्थिक वर्षको जेठ महिनासम्ममा १५ लाख ९१ हजार ५ सय ३५ लिटरको ३९ लाख ७८ हजार ८ सय ४० रुपैयाँ अनुदान वापतको रकम उपलब्ध गराइएको बताए ।

त्यसै गरी सियारी गाउँपालिका भित्रका कृषकको हितका लागि भैरहवा लुम्बिनी भुमिगत जल परियोजनाबाट सिचाई गर्ने कृषकहरुलाई सिंचाईमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तरगत गत आर्थिक वर्षको जेठ महिनासम्म १७ लाख ३८ हजार ४ सय ७९ रुपैयाँ अनुदानवापतको रकम प्रदान गरेको जनाएको छ । निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत जेठ महिनासम्म ३ हजार ७ सय १२ वटा गाई भैसीलाई निःशुल्क कृत्रिम गर्भाधान गरिएको र त्यसवापत कुल १२ लाख ९९ सय हजार २ सय रुपैयाँ अनुदानवापत किसानको खातामा रकम पठाइएको आर्थिक प्रशाशन शाखा प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।

गाउँपालिकाले कृषकहरुलाई घाँस खेतीमा प्रोत्साहन गर्न भन्दै घाँसको विउमा ५० प्रतिशत अनुदान दिएको छ । पालिकाले असारसम्ममा १ हजार ६ सय ३४ हेक्टरमा खेती गर्ने ३ सय ८८ कृषकलाई ६ लाख २४ हजार १ सय ७५ रुपैयाँ अनुदानवापतको रकम हस्तान्तरण गरेको छ ।

त्यसैगरी गाउँपालिकाले यान्त्रिकरणमा पनि सहयोग गर्दै आएको छ । ६७ जना कृषकलाई ११ लाख ३३ हजार १ सय रुपैयाँ अनुदान वापत रकम प्रदान गरिएको छ । त्यस्तै गहुँको बिउ खरिदका लागि ४० लाख, मकैमा साढे ७ लाख, तोरीमा १२ लाख, चैते धान खेतीलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्नका लागि उन्नत बिउ खरिदका लागि २५ लाख रुपैयाँ अनुदानवापत कृषकको खातामा रकम पठाइएको छ ।

गाउँपालिका अन्तर्गत रहेका कृषकहरुको तथ्यांक व्यवस्थित गर्नका लागि गाउँपालिकाले पालिकाभित्रका कृषकरुलाई लागि कृषक कार्ड वितरणलाई प्रभावकारी बनाइएको आर्थिक विकास शाखा प्रमुख गणेशप्रसाद खनालले जानकारी दिए ।