June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

बुटवल– रुपन्देहीको बुटवलमा बहुतले पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो ।

Advertisement

पार्किङ भवन निर्माणका लागि उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ । पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले जनाए ।

Advertisement

‘बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यो पार्किङ भवन बनेपछि बुटवलमा सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्नेछ, यसले बुटवललाई अझै व्यवस्थित शहरका रुपमा स्थापित गर्न मद्दत गर्छ ।’ उनले पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरुले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने बताए ।

बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत उपमहानगरपालिकाले लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

१५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भइ प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो । लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम शुरु गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । बाँकी प्रक्रिया पूरा गरी निर्माणको लागि ठेक्का प्रक्रियामा जाने उनले जनाए ।

७ तले पार्किङ भवनमा एकसाथ करीब २ सय हलुका सवारी पार्किङ गर्न सकिने उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए । ’सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेशिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउँछ’, श्रेष्ठले भने, ‘आधुनिक प्रविधिको प्रयोग गरी यसरी गाडी पार्किङ गरिनेछ ।’