बाणिज्य बैंक कर्मचारी संघको बार्षिकोत्सवमा बालगृहमा खाद्यान्न वितरण


भैरहवा– राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल लुम्विनी प्रदेश समितिले सिद्धार्थ बालगृहका बालबालिकालाई सहयोग स्वरुप जिन्सी खाद्यान्न वितरण गरेको छ । सामाजिक उतरदायित्व बोध गरी खाद्यान्न वितरण गरिएको संघले बताएको छ । संघको ३४ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश समितिले भैरहवामा एक कार्यक्रम गरी बालगृहमा खाद्यान्न वितरण तथा शुभकामना आदान–प्रदान गरेको हो ।
कर्मचारी संघका केन्द्रिय सदस्य सुन्दरप्रसाद श्रेष्ठले वेसहारा असहाय सडक बालवालिकाको भविष्य निर्माण र संघर्षरत कृष्णमाया गुरुङको मानवीय कार्यले आफूहरु प्रभावित भएको बताए । यसैगरी राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका प्रवन्धक विष्णु पोख्रेलले समाजिक व्यक्तित्वहरुले मानवीय संवेदना बुझेर आआफ्नो ठाउँबाट सक्दो सहयोग आदानप्रदान गर्न गर्दा शिक्षित र सभ्य समाज निर्माणमा नयाँ आयाम आउने जनाए ।
बालगृहमा यस्ता किसिमका अन्य सहयोगका बाबजुद पनि अझै धेरै समस्या एवं आवश्यकता कायमै रहेको बताउँदैं बालगृह संचालिका कृष्णमाया गुरुङले बालवालिका हुर्काउँदा, शिक्षादिक्षा दिँदा आफ्नो नीजि जीवनमा झेल्नु परेका समस्याहरुको बारे बताएकी थिइन् । गुरुङका बाबु आमा वेलायतबासी भएर पनि उनी भने नेपालमा नै बसी असहाय सडक बालवालिकाको संरक्षणमा जीवन बितारहेकी छन् ।
वालगृहमा हाल शिशुदेखि १८ वर्षमुनीका कक्षा १२ सम्म अध्ययन गर्ने १० बालिका र ७ बालकसहित १७ जना बालवालिका संरक्षित छन् । बालगृहका ती बालवालिकाहरुलाई भैरहवाका नीजि एवं सामुदायिक विद्यालयहरुमा निःशुल्क रुपमा अध्यापन गराइरहेका छन् ।
संघमा आवद्ध लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत सहयोग एवं सक्रियतामा बार्षिकोत्सव एवं खाद्यान्न वितरण कार्यक्रम मनाएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल लुम्विनी प्रदेश समितीका उपाध्यक्ष श्रीभक्त श्रेष्ठले जानकारी दिए ।
बार्षिकोत्सव समारोह एवं खाद्यान्न वितरण कार्यक्रममा भैरहवा शाखाका सहायक प्रवन्धक अर्जुन अर्याल, सुनवल शाखाका प्रमुख सुमन वस्याल, खसौली शाखाका निमित प्रमुख प्रकाश गैरे, सूर्यपुराका स्वयता काफ्ले पाण्डे, कोटिहवा शाखाका प्रमुख एवं केन्द्रिय सदस्य सुन्दरप्रसाद श्रेष्ठ, अर्घाखाँचीको ठाडाका शाखा सहायक ध्रुव पाण्डेलगायत विभिन्न शाखाका निमित, प्रमुखहरु, ऋण अधिकृतहरुको सहभागिता थियो ।








प्रतिकृया दिनुहोस्