June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

बेलहिया नाकामा बनिरहेको छ आकर्षक स्वागतद्वार

भैरहवा– नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा भारततर्फ व्यवस्थित र राम्रो प्रवेशद्वारा छ । तर, नेपालतर्फ भने पूरानो, साँगुरो र जीर्ण प्रवेशद्वार छ । जीर्ण प्रवेशद्वारले नेपाल आउनेको नाक खुम्चिन्छ । अर्कातर्फ मालबाहक सवारी नेपाल प्रवेश गर्दा पनि साँगुरो गेटका कारण कुनैकुनै बेला समस्या निम्तिने गरेको छ ।

Advertisement

यसअघि सिद्धार्थनगर नगरपालिकाले नाकाभन्दा एक किमी टाढा डण्डा नदीको छेउमा पर्यटकीय गेट बनाएको छ । नाकामै उक्त गेट बनाउन बेलहियाबासीले आग्रह गर्दा नगरपालिकाले बेवास्ता गर्यो । सीमानामा बनाइनु पर्ने गेट टाढा भएको भन्दै नगरपालिकाको आलोचना भएको थियो । तर, नगरपालिका आफ्नो निर्णयबाट पछि हटेन र डण्डा छेउमा गेट बनायो । पर्यटकलाई आकर्षित गर्न भनेर बनाइएको गेट अहिले आकर्षित छैन ।

Advertisement

त्यहाा पर्यटक नै रोकिएर फोटा खिच्नेसम्मको ठाउँ छैन । गेटमा लगाइएका लाइटहरु बेलाबेला विग्रिने गरेका छन् । समयमा मर्मत छैन । यस्तो अवस्थामा सिद्धार्थनगर नगरपालिकाले नेपाल भारत सीमानाका बेलहियामा आकर्षक स्वागतद्धार निर्माण थालेको छ । हाल नाकामा रहेको मुलुकको स्वागतद्वार ६ लेन सडक विस्तारको क्रममा भत्किने भएपछि नगरपालिकाको कार्यालयले पशुपतिनाथ मन्दिरको आकार झल्किने गरी नाकामा स्वागतद्वार निर्माण थालेको नगर प्रमुख इश्तियाक अहमद खानले बताए ।

उक्त स्वागतद्वारमा डिजिटिल बोर्ड, लाइटिङ्ग लगायतका प्रविधिहरु जडान हुनेछ भने स्वागतद्वारको दक्षिण तर्फ ‘वेलकम टु नेपाल’ लेखिनेछ । निर्माण भइरहेको स्वागतद्वारको भौतिक प्रगति २६ दशमलव १९ प्रतिशत छ । स्वागतद्वारको संरचना ‘एम.एस पाइप’ ले निर्माण कार्य भइरहेको छ भने फिनिसिङ्गका लागि ‘अल्ट्रा हाइ ग्लोस वाटर प्रुफ पिभिसी हेजागमन मेस’ लगायत प्रयोग गरिने सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

‘हाल रहेको स्वागतद्धार सडक विस्तारको क्रममा भत्किने भएपछि खुल्ला सीमाका कारण पर्यटकहरुलाई मुलुकको पहिचान गर्न पनि समस्या पर्न सक्ने देखियो’, नगर प्रमुख खानले भने, ‘त्यसैले सीमामा मुलुकको संस्कृति पहिचान सहित स्वागतद्वार निर्माण थालेका हौँ ।’ उनले स्वागतद्वारले हाम्रो संस्कृति पनि झल्किने र मुलुकमा प्रवेश गर्ने पर्यटकहरुलाई नेपालमा प्रवेश गरिरहेको जानकारी पनि प्राप्त जनाए ।

उपप्रमुख उमा अधिकारीले सीमामै स्वागतद्वार निर्माणले मुलुकमा प्रवेश गरिरहेको सर्वसाधरण तथा पर्यटकहरुलाई नेपाल–भारत सीमाको पहिचान र सहजता दुवै हुने बताइन् । ‘पहिला सीमा देखि करिब २५ मिटर टाढा मुलुकको स्वागतद्वार (भत्काउन लागिएको) बनाइएको रहेछ’, उनले भनिन्, ‘तर, अहिले हामीले दशगजा नजिक नै मुलुकको स्वागतद्वार निर्माण गरिरहेका छौँ ।’

एक करोड ६४ लाख रुपैयाँमा निर्माण सुरु भएको उक्त स्वागतद्वार २०८० पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरी कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए । यसले नेपाल भित्रिे पर्यटकलाई नेपाल आएको झल्को दिने नै छ भने विगतमा जस्तो ठूला सवारी नेपाल प्रवेशमा गेटकै कारण हुने झन्झट हट्ने छ ।