June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

भन्सार छलीबाट भित्र्याइएका १० लाख मूल्यका मोबाइल र पाटपुर्जासहित एक पक्राउ

भैरहवा– रुपन्देही प्रहरीले अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी चोरीतस्करीका माध्यमबाट भित्र्याइएका उक्त सामाग्री बुटवलबाट बरामद गरेको हो । बरामद गरेको सामानको मूल्य करिब १० लाख रुपैयाँ बराबर छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार ५ सय रुपैयाँ मूल्यबराबरको मोबाइल र पाटपुर्जा बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले अवैध मोबाइल तथा पाटपुर्जा ल्याएको अभियोग आरोपमा बुटवल–१२ रामनगरबाट सामानसहित एक जनालाई पक्राउसमेत गरेको छ ।

डीएसपी अर्यालकाअनुसार पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ का २३ वर्षीय दिनानाथ थारु छन् । उनीसँग स्कुटर र विभिन्न किसिमका २३ थान मोबाइल पनि बरामद गरिएको उनले जानकारी दिए । साथै चार्जर, ब्याट्री र मोबाइलको डिस्प्लेलगायतका सामान पनि बरामद भएका छन् । बरामद सामान र पक्राउ परेका थारुलाई थप कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

Advertisement